इलेक्ट्रीक एसयूभी ‘एटो–३’ नेपाल आउने

काठमाडौं । बीवाइडीको नयाँ एसयूभी ‘एटो-३’ नामबाट नेपाली बजारमा आउने भएको छ । बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंकका अनुसार अष्ट्रेलियामा विक्री सुरु भएको एटो-३ नै नेपाली बजारमा पनि उपलब्ध हुन लागेको हो ।

साइमेक्स इंक स्रोतका अनुसार चाँडै नयाँ एसयूभी ल्याउने तयारी भइरहेको छ । यद्यपि, कुन मितिमा एटो-३ नेपाल आउने छ भन्ने विषयमा कुनै जानकारी दिएको छैन ।

‘हामीले शोरुम निर्माणको कामलाई अन्तिम चरणमा पर्याएका छौं । नयाँ शोरुमसँगै नयाँ गाडीको बुकिङ खोल्ने योजना छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

अष्ट्रेलियामा पनि नेपाल जस्तै राइट ह्याण्ड ड्राइभ सिस्टम भएको देश भएकाले बीवाइडीले अष्ट्रेलियामा उपलब्ध गराएको गाडी नै नेपाली बजारको लागि पठाउने छ ।

नेपाल आउने एटो-३ को लम्बाई ४४५५ एमएम, चौडाई १८७५ एमएम र उचाई १६१५ एमएम रहेको छ । यसको लम्बाई टोयोटा र्‍याभफोर भन्दा १४५ एमएम छोटो भएपनि चौडाई धेरै भएकोले भित्र प्रसस्ता ठाँउ पाउन सकिन्छ । यसमा २७२० एमएमको ह्वीलवेस रहेको छ ।

यसअघि चर्चा गरिएभन्दा निकै पावरफुल मोटरमा यो गाडी आउने भएको छ । बीवाइडीले अहिले नेपालमा विक्री गर्दै आएको गाडीमा ७० किलोवाट क्षमताको मोटर रहेपनि एटो-३मा भने १५० किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर दिइएको छ । यसले ३१० एनएम टर्क प्रदान गर्छ ।

अष्ट्रेलियन बजारमा बीवाइडीले यसको स्टायडर्ड भेरियन्टमा ५०.१ र लामो रेन्ज भेरियन्टमा ६०.४ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ । डब्लूएलटीपीका अनुसार यी दुबैको रेन्ज क्रमशः ३२० र ४२० किलोमिटर प्रमाणित भएको छ । एनइडीसीको अनुसार भने क्रमशः ४०० र ४८० किमि प्रमाणित भएको छ ।

सुरक्षाको लागि यो एसयूभीमा अगाडि भ्यान्टीलेटड डिस्क र पछाडि डिस्क ब्रेक दिइएको छ । यसका साथै ७ वटा एयरब्याग, इलेक्ट्रीक पार्किङ ब्रेक, एबीएस, इएसपी, ट्रयाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, इन्टिलिजेन्ट क्रुज कन्ट्रोल, अटोमेटीक ब्रेकिङ, फ्रन्ट कुलिजन वार्निङ, डोर ओप्पन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन किप एसिस्ट, क्रस ट्राफिक अलर्ट जस्ता फिचर दिइएको छ ।

यसको इन्टेरियर पनि निकै आकर्षक रहेको छ । फिटनेस र म्यूजिकको थिममा तयार भएको इन्टेरियरले जो कसैलाई लोभ्याउने छ । मल्टीफङ्सनल स्टेरियङ ह्वील, ५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, लेदर सिट, फोल्डिङ रियर सिट, ६ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आइएसओ फिक्स चाइल्ड सिट, १२.८ इन्चको रोटेड इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जर, किलेस इन्ट्री, ८ वटा स्पीकर पाउन सकिन्छ ।


Back_to_top