एबीएस सहित चाँडै आउन सक्ने १५० सीसीका मोटरसाइकल

काठमाडौं । अहिले बजारमा १५० सीसीका मोटरसाइकलमा एबीएस फिचर समावेस भएर आउन थालेका छन् । यस्तोमा बजाज, होन्डा र हिरोका १५० सीसी सेग्मेन्टमा आउने मोटरसाइकल एबीएस सहित आउने अनुमान गर्न सकिन्छ ।

बजाजको चर्चित मोटरसाइकल पल्सर १५०, होन्डा यूनिकर्न र हिरो एक्सट्रीम १६० आर बजारमा चाँडै उपलब्ध हुनसक्ने एबीएस सहितको मोडल हुने देखिन्छ ।

अहिले यामाहा एफजेडएस भी थ्रि, टीभीएस अपाचे आरटीआर १६० फोर भी, सुजुकी जिक्सर १५० र बजाज पल्सर एनएस १६० एबीएस फिचर समाबेस भएका मोटरसाइकल हुन् ।

धेरै मोटरसाइकल खरिद गर्ने मानिसले सुरक्षाको हिसावले उत्कृष्ट मानिएको एबीएस फिचर खोज्न थालेसँगै बजाजले पल्सर १५०, होन्डाले यूनिकर्न र हिरोले नेपाल ल्याउने तयारी गरेको एक्सट्रीम १६० आरमा एबीएस फिचर आउने आँकलन गर्न थालिएको छ ।

‘धेरै ग्राहकले एबीएस छ वा छैन भनेर सोध्न थालेका छन्, एबीएस छैन भने नकिन्ने भन्ने ग्राहकहरु पनि आउन थालेका छन् । यसले १५० सीसी सेग्मेन्टमा एबीएस ल्याउनै पर्ने दबाब सृजना भएको छ’, एक मोटरसाइकल बिक्रेताले भने ।

भारतीय बजारमा यी तीनवटै मोटरसाइकलमा एबीएस फिचर उपलब्ध रहेको छ । यस्तोमा बजारमा एबीएस सहितको मोटरसाइकलको माग बढ्दै गएकाले कम्पनीहरु यसलाई नेपाल ल्याउन जुटेका हुन् ।

के हो एबीएस ?

एबीएस मोटरसाइकल तथा गाडीहरुमा प्रयोग गरिएको ब्रेकिङ सिस्टमलाई चुस्त बनाउने प्रविधि हो । यसको प्रयोगले एक्कासी ब्रेक लगाउनु पर्दा टायरलाई फस्न वा जाम हुनबाट बचाउछ ।

अचानक हुन सक्ने दुर्घटना रोक्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसको सहयोगले ब्रेक अचानक लगाउँदा मोटरसाइकलको सन्तुलन बिग्रदैन । स्ट्यान्डर्ड डेफिनेशनका अनुसार सामान्यतया एक्कासी ब्रेक लगाउँदा मोटरसाइकल असन्तुलन हुन्छ । जसले मोटरसाइकल घिस्रिने, फनक्कै घुम्ने वा पल्टिने डर हुन्छ । तर एबीएस प्रविधिको प्रयोग भएका मोटरसाइकलमा यस्तो समस्या आउँदैन र यात्रा सुरक्षित हुन्छ ।


Back_to_top