एकैसाथ नेपाल प्रवेश गर्दै ६ चिनियाँ कार ब्राण्ड

काठमाडौं । नेपाली बजारमा चिनियाँ कार ब्राण्डको बाढी आइरहेको छ । न्यू इनर्जी भेहिकलको बिक्रीमा आएको बढोत्तरीसँगै चिनियाँ इलेक्ट्रीक कार ब्राण्डहरू एकपछि अर्को नेपाल आउन थालेका हुन् ।

विशेषगरी नेपालमा अटोमोवाइल व्यवसाय गर्ने व्यवसायीहरू यसअघि भारत, जापान, युरोप र अमेरिकामा उत्पादन भएका कार नेपाल ल्याउँन तँछाड मछाड गर्थे । अहिले चिनियाँ उत्पादन नेपाल ल्याउन त्यस्तै गरिरहेका छन् ।

भदौ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२४ मा आधादर्जन बढी ब्राण्ड सार्वजनिक हुने क्रममा छन् । ती मध्ये हामीले यहाँ चर्चामा रहेका ६ ब्राण्डका बारेमा उल्लेख गरेका छौं ।

अवतार :सन् २०१८ मै चांगान र नियो मिलेर स्थापना गरेको अवतार प्रिमियम ईभी ब्राण्ड हो। पछि नियोले यसको सेयर बिक्रिगरेसँगै सीएटीएलको इन्ट्री भएको हो । यो ब्राण्ड चिनियाँ अटोमोवाइल कम्पनी चांगान, हुवावे र सीएटीएल मिलेर विकास गरेको हो।

अहिले चांगान र सीएटीएल यसका मुख्य लगानीकर्ता हुन् । यसमा टेक्नीकल सपोर्ट भने हुवावेको रहेको छ । सन् २०२१ बाटै अवतार टेक्नोलोजी नामक कम्पनी संचलानमा आएको हो । यसमा अहिले चिनियाँ स्टेट गभर्मेन्टको पनि लगानी छ । कम्पनीले सन् २०२२ को अन्तिम तिर अवतार-११ मोडल बजारमा ल्याएको थियो ।

नेपाली बजारमा सीजी मोटर्स र एमएडब्ल्यू राइड मिलेर अवतार ल्याएका हुन् । अहिले नै काठमाडौंमा अवतार-११ मोडल उपलब्ध छ । कम्पनीले चाँडै यसको नयाँ शोरुम सहित बिक्री सुरू गर्ने तयारी गरेको छ ।

एक्सपेङ :  सीजी मोटर्सले नै नेपाल ल्याइरहेको एक्सपेङ पनि चीनमा प्रिमियम इलेक्ट्रीक ब्राण्ड भित्र पर्छ । चीनसँगै अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो प्रभाव छाड्न सफल एक्सपेङ सन् २०१४ मा स्थापना भएको कम्पनी हो ।

न्यूयोर्क स्टक एक्सचेन्जदेखि चीनका विभिन्न स्टक एक्सचेन्जमा लिष्टेड एक्सपेङ चीनकै ठूलो मध्येको एक इलेक्ट्रीक ब्राण्ड बनिसकेको छ । विश्व प्रसिद्ध ब्राण्ड फक्सवागेनसँग टेक्नोलोजीमा सहकार्य गर्दै आएको एक्सपेङको जी–६ मोडल नेपाल आउने क्रममा छ ।

एक्सपेङले युरोप, अष्ट्रेलिया र एशियाली देशमा आफ्ना उत्पादनको बजार विस्तार गर्ने रणनीति तयार गरेर काम अगाडि बढाएको छ । उसले उड्ने ट्याक्सीदेखि प्रिमियम एसयूभीसम्म उत्पादन र बिक्री गर्दै बढाउँदै लाने योजना बनाएको छ ।

जिकर :  जिली अटोमोबाइल होल्डिङले इलेक्ट्रीक प्रिमियम ब्राण्डको रूपमा स्थापना गरेको जिकर सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले नेपाल ल्याउने छ । नेपाली बजारमा यसको ‘जिकर एक्स’ मोडल सुरूमा आउने छ ।

सन् २०२१ मा जिकर ब्राण्डको स्थापना भएको हो । यो ब्राण्ड नयाँ भएपनि जिलीसँग कार उत्पादनको लामो अनुभव रहेको छ । विश्वमा ईभीमा प्रिमियम गाडी उत्पादन र बिक्री गर्दै आएका टेस्ला र नियोलाई टक्कर दिन जिकर ब्राण्डको स्थापना भएको हो ।

जिकरले ठूलो ब्याट्री उत्पादक सीएटीएलसँग ब्याट्री लिइरहेको छ । साथै, नयाँ नयाँ कार पनि ल्याउने क्रममा रहेको छ । युरोप र एशियाली बजारमा राम्रो प्रभाव पर्ने योजनासहित जिलीले जिकर ब्राण्डलाई अगाडि बढाएको छ । कम्पनीले छोटो समयमा ६ मोडल उत्पादन र बिक्री गर्दै आएको छ ।

नामी :  डोङफेङ ग्रुपको पूर्ण स्वामित्व रहेको नामी २०२० मा स्थापना भएको उहान न्यू इनर्जी टेक्नोलोजीले उत्पादन गरेको कार ब्राण्ड हो । यसलाई २०२३ मा आएर डोङफेङ मोटर्स नामी टेक्नोलोजी कम्पनी लिमिटेड बनाइएको हो ।

नामीले एस-३ प्लेटफर्म घोषणा गरेर साना र कम मूल्यका प्योर इलेक्ट्रीक भेहिकल उत्पादन गर्दै आएको छ । त्यसैको पहिलो मोडल नामी-०१ नेपाल आएको छ । यसलाई एमएडब्लू वृद्धिले नेपाल ल्याउन लागेको हो ।

लिप मोटर्स :  करिब ३ महिना अघिदेखि लिप मोटर्सको टी-०३ ह्याचव्याक कार नेपालका सडकमा दौडिरहेको भेटिन्छ । त्यसमा पनि काठमाडौंको नक्साल एरियामा धेरै पटक यसलाई देखिएको छ ।

सन् २०१५ मा स्थापना भएको लिप मोटर्सले सन् २०१९ मा पहिलो विद्युतीय कार बजारमा ल्याएको थियो । स्टार्टअप कम्पनीको रूपमा उदायको लिप मोटर्समा केही महिना अघि युरोपियन कार निर्माता स्टेलान्टीसले २० प्रतिशत सेयर किनेर प्रवेश गरेको हो ।

चीनमा नै पहिलो पटक ईभीमा आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) प्रयोग गरेको कम्पनीसँग अहिले आधा दर्जन मोडल छन् । लिप मोटर्सले सन् २०२३ मा १ लाख ४४ हजारभन्दा बढी इलेक्ट्रीक कार बिक्री गरेको थियो । स्टेलान्टीसको प्रवेशसँगै लिप मोटर्स नेपाल आउने भएको हो ।

नेपालमा आधिकारिक बिक्रेता घोषण नभए पनि आगामी अटो शोमा लिपको स्टल रहने पक्का छ ।

स्मार्ट :  सन् २०१९ मा स्थापना भएको स्मार्ट अटोमोबाइल कम्पनी जर्मन ब्राण्ड मर्सिडिज बेन्ज एजी र जिज्याङ जिली होल्डिङ ग्रुपको संयुक्त लगानीमा स्थापना भएको हो । यी दुवै ब्राण्डले चीनमा १९९४ देखि नै सहकार्य गर्दै आएका थिए ।

स्मार्टका कार पनि सीजी मोटर्सले नेपाली बजारमा ल्याउने छ । यसको स्मार्ट वान मोडल चाँडै नेपाल आउने कम्पनीको भनाइ छ ।


Back_to_top