ईभी उत्पादनमा आक्रमक बन्दै चल्तीका ब्राण्ड, आउँदै आधा दर्जन मोडल

काठमाडौं । विशेषगरी भारतमा कार उत्पादन गर्दै आएका ब्राण्डहरु ईभी उत्पादनमा केन्द्रित हुन थालेका छन् । भारतीय कम्पनी टाटा र महिन्द्रा, इन्डो-जापानी ब्राण्ड सुजुकी, कोरियन ब्राण्ड हुन्डाई र फ्रेन्च ब्राण्ड सिट्रोनले भारतमा नयाँ इलेक्ट्रीक एसयूभी ल्याउने तयारी तिब्र बनाएका हुन् ।

भारतमा धेरैको चासो र बिक्री हुने कम्प्याक्ट एसयूभी साइजमा आउने नयाँ ईभीहरुले भारतमा कस्तो ब्यापार गर्छ, त्यो अहिल्यै भन्न सकिने अवस्था छैन । तर, नेपाल जस्ता ईभीमा राम्रो बजार पाइरहेको देशमा भने पक्कै राम्रो ब्यापार गर्नेछ ।

सन् २०२४ भित्रै बजारमा बिक्री सुरु हुने विद्युतीय एसयूभीहरु यस प्रकार रहेका छन् ।

टाटा कर्भ

टाटाले निर्माण गरिरहेको कुप्पे डिजाइन प्रेरित कर्भ ईभी सबैभन्दा पहिला बजारमा आउने अनुमान गरिएको छ । कम्पनीले जनवरी १७ तारिखमा पन्च ईभी बजारमा ल्याउँदैछ । पन्चपछि कम्पनीले कर्भ मोडल बजारमा ल्याउने छ ।

कम्पनीले कर्भ एसयूभीलाई पेट्रोलियम पदार्थ र इलेक्ट्रीक दुबै भर्सनमा ल्याउने छ । ड्यूल मोटर सेटअपमा रहने कर्भ ईभीले ५०० किलोमिटर माथि रेन्ज प्रदान गर्ने बताइन्छ ।

सुजुकी ईभीएक्स

भारतीय बजारमा सफलताको शिखर चुम्दै आएको इन्डो-जापानी ब्राण्डले आफ्नो पहिलो विद्युतीय मोडलको रुपमा ‘ईभीएक्स’ मोडल सार्वजनिक गर्नेछ । कम्पनीले ल्याउने नयाँ मोडलको अहिले परिक्षण चलिरहेको छ । गत वर्षको नोभेम्बरमा जापान मोविलीटी शोमा देखाइएको ‘ईभीएक्स’मा सिंगल र ड्यूल मोटर अप्सन दिइने छ ।

जापनीज अटोमोवाइल कम्पनी टोयोटा र सुजुकी मिलेर बनाएको ‘ईभीएक्स’ उत्कृष्ट इलेक्ट्रीक एसयूभी हुनेमा कुनै शंका छैन । भारतमा उत्पादन भएर विश्व बजारमा निर्यात हुने भनिएको यो एसयूभीको रेन्ज पनि ४०० देखि ५०० किलोमिटर हुने बताइन्छ ।

हुन्डाई क्रेटा इलेक्ट्रीक

अटोमोवाइल क्षेत्रका विभिन्न रिपोर्टहरुले हुन्डाई क्रेटाको इलेक्ट्रीक भर्सन पनि यहि वर्ष बजारमा आउने उल्लेख गरेका छन् । भारतीय बजारमा सर्वाधिक सफल क्रेटा नेपालमा पनि निकै सफल मोडल मानिन्छ ।

क्रेटाको फेसलिफ्ट मोडल दुई दिनपछि बिक्री सुरु हुँदैछ । कम्पनीले यसको इन्टेरियर र फिचरहरु धेरै हदसम्म ईभी मैत्री बनाएको देखिन्छ । सडक परिक्षणका क्रममा थुप्रै पटक देखिएको क्रेटा ईभीमा ४५ किलोवाट आवरको एलजी केमको लिथियम आयोन ब्याट्री रहने छ ।

महिन्द्रा एक्सयूभी ई८

महिन्द्राले ‘इनग्लो प्लेटफर्म’मा बनाएको नयाँ एसयूभी एक्सयूभी ई८ पनि यसै वर्षको अन्त्यसम्ममा लन्च हुनेछ । महिन्द्राको फ्ल्यागसिप इलेक्ट्रीक एसयूभीको रुपमा लन्च हुने एक्सयूभी ई८ को रेन्ज ४५० किलोमिटर हुने बताइन्छ ।

कम्पनीले आफ्नो सफल एसयूभी ‘एक्सयूभी ७००’मा आधारित रहेर तयार गरिरहेको ई८ मोडल उत्पादनको लागि तयार रहेको देखिन्छ ।

टाटा सफारी/ह्यारियर ईभी

टाटा मोटर्सले आफ्नो सबै इन्टरनल कम्बस्चन इन्जिन भएका मोडललाई ईभीमा पनि ल्याउने योजना अनुसार सफारी र ह्यारीयर मोडललाई पनि विद्युतीय बनाउने काम गरिरहेको छ । कम्पनीले ह्यारीयरको कन्सेप्ट एक वर्ष अगाडि नै देखाएको हो ।

सन् २०२४ को अन्त्यसम्ममा बजारमा आउने अनुमान गरिएको यी दुई ईभीको रेन्ज पनि सिंगल चार्जमा ५०० किलोमिटरको हाराहारी हुने अनुमान गरिएको छ ।

सिट्रोन ईसीथ्री एयरक्रस

फ्रेन्च कम्पनी सिट्रोनले पनि आफ्नो कम्प्याक्ट एसयूभी सीथ्री एयरक्रसलाई इलेक्ट्रीक पावरट्रेनमा लन्च गर्ने भएको छ । कम्पनीले यसअघि नै आफ्नो पहिलो भारतीय उत्पादन सीथ्रीलाई इलेक्ट्रीकमा ल्याइसकेको छ । सिट्रोन इन्डियाले सन् २०२४ को अन्त्यसम्ममा यसको इलेक्ट्रीक भर्सन बजारमा ल्याउने छ ।


Back_to_top