पाँच महिना भित्र आउँदै ८ नयाँ मोडलका कार

काठमाडौं । सन् २०२२ मा विभिन्न कम्पनीले नयाँ मोडलका कार बजारमा ल्याउने तयारी गरिरहेका छन् । विशेषत भारतमा उत्पादन हुने मोडलसँग नेपालको सम्बन्ध रहने भएको कारण चालु वर्षमा कति नयाँ मोडल आउँछन् भन्ने विषयमा यहाँ पनि चासो र चर्चा हुने गरेको छ ।

भारतीय बजारलाई आधार बनाएर यो वर्ष टोयोटा, हुन्डाई, मारुती सुजुकी, जीप, फक्सवागेन, महिन्द्रा जस्ता ब्राण्डले नयाँ मोडलको तयारी गरिरहेका छन् । यी ब्राण्डले भारतमा उत्पादन गर्ने सबै गाडी नेपाली बजारमा आउने छ ।

भारतमा दुई दिनपछि टाटाले सार्वजनिक गर्ने नेक्सन इभी म्याक्स निकै प्रतिक्षित मोडल हो । अहिलेको भन्दा बढी रेन्ज दिने भएको कारण नेक्सन इभी म्याक्स यसअघि नै चर्चाको शिखरमा पुगिसकेको छ । कम्पनीले यसलाई मे ११ तारिखमा सार्वजनिक गर्दैछ । भारतमा विक्री सुरु भएको केही समयपछि नेक्सन इभी म्याक्स नेपाल पनि आउने छ ।

जीपले यसअघि नै सार्वजनिक गरेको मेरिडियन जुन महिनाबाट भारतमा विक्री सुरु हुन्छ । भारतमा विक्री सुरु भएको केही दिनपछि नै नेपाली बजारमा उपलब्ध हुने मेरिडियन टोयोटा फर्चुनरसँग प्रतिस्पर्धा गर्ने मोडल हो । यसलाई लाइफ अटोमोबाइलले नेपाल ल्याउने तयारी सुरु गरिसकेको छ ।

सिट्रोन सि थ्री पनि जुलाई महिनासम्म बजारमा आउने नयाँ मोडल हो । सब फोर मिटर सेग्मेन्टमा आउने सि थ्री निकै सुन्दर बनोटको कारण चर्चा रहँदै आएको छ । साथै, निसान म्याग्नाइट र रेनो कारइगरको सेग्मेन्टमा आउने यो सब फोर मिटर क्रसओभर निकै प्रतिक्षित मोडल हो । १.२ लिटर क्षमताको टर्बो इन्जिन रहने सि थ्री पनि नेपाल बजारमा उपलब्ध हुनेछ ।

न्यू जेनेरेशन स्कर्पियो पनि चाँडै सार्वजनिक हुने अनुमान गरिएको छ । कम्पनीले विगत दुई वर्षदेखि परिक्षण गरिरहेको यो मोडलको केही दिनअघि टिजर जारी गर्दै कमिङ सुन… लेखिएको छ । यसको मतलव स्कर्पियोको नयाँ जेनेरेशन मोडल तयार भएको छ । कम्पनीले यसलाई दिपावली अगाडि नै बजारमा ल्याउने छ । स्कर्पियो नेपाल नआउने कुरै भएन ।

नयाँ जेनेरेशन ब्रेजा पनि बहुप्रतिक्षित मोडल हो । मारुती सुजुकीको सर्वाधिक सफल एसयूभी ब्रेजाको नयाँ जेनेरेशन मोडल दिपावली अगाडि नै बजारमा आउने छ । आधुनिक सुरक्षा फिचर, सनरुफ, हेडअप डिस्प्ले सहित आउने ब्रेजा पनि नेपाल आउने छ ।

टोयोटा र मारुती सुजुकीले संयुक्त रुपमा तयार गरिरहेको नयाँ मिड साइज एसयूभी पनि तिहार अगाडि भारतमा सार्वजनिक हुने छ । दुबै ब्राण्ड नेममा आउने यो नयाँ एसयूभी टोयोटाको भारतीय प्लान्टमा उत्पादनको काम भइरहेको छ । टोयोटाले उत्पादन गर्ने मोडल नेपाल पनि आउने छ ।

हुन्डाईको परिचित सब फोर मिटर एसयूभी भेन्यूको फेसलिफ्ट मोडल पनि दिपावली अगाडि नै बजारमा आउने छ । कम्पनीले यसको अगाडि र पछाडिको भागमा ब्यापक परिमार्जन गरेर भेन्यू फेसलिफ्ट बजारमा उतार्ने छ ।


Back_to_top