यस्ता छन् नेपाल आउने क्रममा रहेका प्रिमियम इलेक्ट्रीक कार

काठमाडौं । विद्युतीय कार प्रति ग्राहकको रुची बढ्दै गएको छ । ग्राहकको रुची अनुसार हुन्डाई, किया, विवाइडी, एमजी, दिगो, डेरी र महिन्द्राले आफ्ना केही उत्पादन बजारमा विक्री गर्दै आएका छन् ।

प्रिमियम सेग्मेन्टमा ज्यागुअर, अउडी, टेस्ला जस्ता मोडल नेपाल आएपनि आधिकारीक विक्रेताले मात्रै गाडी आयात गर्न पाउने व्यवस्थाका कारण यी गाडी अब तत्काल नेपाल आउने देखिदैन । यद्यपी किया, हुन्डाई र एमजीले थप मोडल नेपाल ल्याउने तयारी गरेका छन् ।

उसोत सब फोर मिटर एसयूभी सेग्मेन्टमा टाटा नेक्सन इभी नेपाल आई सकेको छ । अर्को हप्ताबाट यसको आधिकारीक विक्री सुरु हुने सिप्रदी ट्रेडिङले जनाएको छ । त्यसैगरी यही सेग्मेन्टमा महिन्द्रा एक्सयूभी ३०० को इलेक्ट्रीक मोडल र हुन्डाई भेन्यूको इलेक्ट्रीक मोडलमा पनि कम्पनीहरुले काम गरिरहेको रिपोर्टहरु सार्वजनिक भएका छन् । यी दुबै गाडी सन् २०२२ बाट बजारमा उपलब्ध हुने अनुमान गरिएको छ ।

नेपाल आउने क्रममा रहेका प्रिमियम इलेक्ट्रीक कार मध्ये हुन्डाई आयोनिक ५ सबैभन्दा पहिला नेपाल आउने अनुमान गरिएको छ ।

हुन्डाई आयोनिक ५

हुन्डाई मोटर कोरियाले आयोनिक ५ अन्तर्राष्ट्रिय बजारमा विक्री सुरु गरेको छ भने नेपाल ल्याउने तयारी पनि भइरहेको आधिकारीक विक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ । आयोनिक ५ सन् २०२१ को अन्त्यसम्म नेपालमा विक्री सुरु हुने अनुमान गर्न सकिन्छ ।

हुन्डाईको नयाँ इलेक्ट्रीक ग्लोवल मोडुलर प्ल्याटफर्म (इ–जीएमपी) मा निर्माण भएको आयोनिक ५ हुन्डाईले सन् २०१९ मा सार्वजनिक गरेको ४५ वटा कन्सेप्ट कार मध्ये एक हो । यसमा दिइएको एज स्टाइलिङले हुन्डाई कारलाई बोल्ड देखाएको छ ।

कम्बस्चन इन्जिनको भन्दा विल्कुल फरक इन्टेरियर लेआउटमा तयार भएको आयोनिक ५ मा ‘सेन्टर हम्प’ रहेको छैन, यही कारण कारको क्याविनमा यथेस्ट स्पेस पाउन सकिन्छ ।

आयोनिक ५ मा लाउन्ज जस्तो देखिने क्याविन रहेको छ । यसमा इलेक्ट्रिक एडजस्टेवल सिट रहेको छ । यस कारकाे बुटमा ५६.५ क्यूफिट स्पेश ग्राहकले पाउने छन् । यो स्पेश पाउन भने सेकेन्ड रोको सिटलाई भने फोल्ड गर्नु पर्ने हुन्छ । यसको इन्टेरियरमा रिसाइकल प्लास्टीक तथा इकोफ्रेन्डली मेटेरियलको प्रयोग गरिएको हुन्डाईले जनाएको छ ।

आयोनिक ५ मा १२ इन्चको इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ । त्यस्तै याे कारमा ५८ र ७२.६ किलोवाट आवरको दुई व्याट्री अप्सन रहेको छ । सबैभन्दा पावरफुल कम्बीनेसनले ३०१ हर्सपावर तथा ६०५ को एनएम टर्क उत्सर्जन गर्छ । जसले ५.२ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको स्पीड पुग्ने छ भने, यसको टपस्पीड ११८ किलोमिटर प्रतिघण्टा रहने छ ।

सेफ्टीलाई उच्च प्राथमिकतामा राखेर तयार भएको आयोनिक ५ मा स्ड्याण्डर्ड फिचरका रुपमा फर्वाड कलिजन र व्लाइन्ड स्पट असिस्टेन्ट तथा एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम दिइएको छ । हाइवे ड्राइभिङका लागि ग्रेड २ सेमी अटोनोमस सिस्टम रहेको छ । जसको सहयोगमा एड्भान्स टाइपको क्रुज कन्ट्रोल रहने छ ।

किया इभी–६

कन्टिनेन्टल ट्रेडिङले सन् २०२२ मा नेपाल ल्याउने तयारी गरेको किया इभी–६ पनि आयोनिक जस्तै नयाँ ‘इलेक्ट्रीक ग्लोवल मोडुलर प्ल्याटफर्म’मा तयार भएको कार हो । विभिन्न ३ भेरियन्ट इभी–६, इभी–६ जिटी र इभी–६ जिटी लाइनमा उपलब्ध रहेको छ ।

कम्पनीले आफ्नो नयाँ इलेक्ट्रीक एसयूभीको धेरै रेञ्ज दिने भेरियन्टमा ७७.४ किलोवाट आवरको व्याट्री दिएको छ भने, सानो व्याट्री ५८ किलोवाट आवरको रहेको छ ।

इभी–६ मा १२५ किलोवाटदेखि ४३० किलोवाटको मोटर अप्सन उपलब्ध रहेको छ । इभी–६ मा ८०० भोल्ट र ४०० भोल्टको चार्जर उपलब्ध रहेको छ । यसलाई फास्ट चार्जरले १८ मिनेटमा १० देखि ८० प्रतिशत चार्जगर्न सकिने छ ।

एमजी ५

एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले चाँडै नेपाल ल्याउने तयारी गरेको एमजी ५ कम मूल्यको इलेक्ट्रीक कार हो ।

बेलायती बजारमा विक्री वितरण हुँदै आएको एमजी–५ क्रसओभर गाडी हो । बेलायतमा यसको सिधा प्रतिस्पर्धा निसान लिफसँग भइरहेको छ । एमजी इजेडएस भन्दा कम मूल्यमा यसलाई नेपाली बजारमा ल्याउने तयारी कम्पनीले गरिरहेको छ ।

एमजी–५ मा ५२.२ किलोवाट आवरको व्याट्री जडान गरिएको छ । उक्त व्याट्रीलाई एक पटकको फुल चार्जले सहरी क्षेत्रमा ४४० किलोमिटर र हाइवेमा ३४२ किलोमिटर गुडाउन सक्ने डब्लुएलटीपीले प्रमाणित गरेको छ । यसमा ११५ किलोवाटको इलेक्ट्रीक मोटर पाउन सकिन्छ ।

 


Back_to_top