काठमाडौं । संसारकै ठूलो इलेक्ट्रीक सवारी साधन उत्पादक कम्पनी बन्ने लक्ष्यसहित बजारमा आएको ओलाले बुकिङ खुल्ला गरेको पहिलो दिन नै १ लाख यूनिट बुकिङ भएको जनाएको छ । कम्पनीले ल्याएको ओला इ-स्कुटरको बुकिङ खुल्ला गरेको दिन नै १ लाख यूनिट बुकिङ भएको हो ।
कम्पनीका सीइओ भविश अग्रवालले २४ घन्टामा रेकर्ड बुकिङ भएको जनाएका हुन् । ओलाको पहिलो स्कुटर ४९९ भारु तिरेर अनलाइन मार्फत बुकिङ गर्न सकिने बनाइएको थियो । यो भारतीय अटोमोवाइल क्षेत्रको लागि रेकर्ड भएको मिडियाहरुले उल्लेख गरेका छन् ।
‘म निकै आश्चर्य चकित भएको छु, ग्राहकको यो किसिमको सपोर्टले इलेक्ट्रीक सवारी प्रतिको मोहलाई देखाएको छ । यसले हाम्रो लक्ष्यलाई थप मजबुद बनाएको छ । यो सुरुवात मात्र हो’, सीइओ अग्रवालले भने ।
कम्पनीले नयाँ स्कुटरको अहिलेसम्म नाम समेत राखेको छैन । यद्यपी एस, एस वान र एस वान प्रो नामको ट्रेडमार्क भने दर्ता गरेको छ । अहिले कम्पनीले ल्याउन लागेको स्कुटरको नाम ओला एसको सिरिज रहने अनुमान गरिएको छ । यी तीन वटै मोडलमा फरक फिचर उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
एक पटकको फुल चार्जमा १५० किलोमिटर रेञ्ज प्रदान गर्ने जनाइएको ओलाको इलेक्ट्रीक स्कुटरमा लिथियम आयोन व्याट्री प्रदान गरिने छ । कम्पनीले यसको मूल्य पनि बाहिर ल्याएको छैन । संभवत यसको मूल्य १ लाख भारतीय रुपैयाँ हुने अनुमान छ ।


