शोसल मिडिया गतिवधि बढाउँदै तीन ब्राण्ड, ल्याउँदैछन् नयाँ कार

काठमाडौं । आगामी भदौ ११ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२४ मा धेरै ब्राण्डले नयाँ गाडी प्रदर्शनी गर्ने तयारी थालेका छन् ।

विशेषगरी चिनियाँ ब्राण्डले उत्पादन गरेका विद्युतीय गाडीहरुले चाँडै नेपाल आउने भन्दै सामाजिक संजाल मार्फत ब्राण्डको गतिविधि अगाडि बढाएका छन् । यसरी ब्राण्ड गतिविधि बढाउनेमा जिकर, एक्सपेङ र नामी सबैभन्दा अगाडि देखिन्छन् ।

जिकरको आधिकारीक बिक्रेता नियुक्त भएको पायोनीयर मोटोकर्पले जिकर नेपाल नामक फेसबुक पेज मार्फत चाँडै नेपाल आउन लागेको सन्देशहरु दिइरहेको छ । जिली होल्डिङको स्वामित्वमा रहेको जिकरलाई चीनमा प्रिमियम ब्राण्डको रुपमा लिइन्छ । कम्पनीले जिकर एक्स मोडल नेपाली बजारमा ल्याउन लागेको हो ।

एक्सपेङले पनि नेपाल प्रबेश गर्न आफु तयार रहेको सन्देश दिएको छ । सिजी मोटर्सले नेपाल ल्याएको एक्सपेङलाई ‘एक्सपेङ नेपाल’ नामक फेसबुक पेज खोलेर उसका गतिविधि सार्वजनिक गरिरहेको छ । कम्पनीले एक्सपेङ ‘जी–सिक्स’ मोडल नेपाल ल्याउन लागेको हो ।

डोङफेङको इलेक्ट्रीक ब्राण्ड नामीले पनि आफ्नो शोसल मिडिया गतिविधि बढाएको छ । एमएडब्लू वृद्धि मोटोकर्पले नेपाल ल्याएको नामीले ‘डोङफेङ नेपाल’ नामबाट फेसबुक पेज संचालन गरेर नामी-०१ चाँडै बजारमा आउने सन्देश दिएको छ ।

यी तीन ब्राण्ड मध्ये नामी-०१ नेपाल आइसकेको छ । बाँकी जिकर र एक्सपेङका एसयूभी नेपाल आउने चरणमा छन् । यी दुबै ब्राण्डका इलेक्ट्रीक ब्राण्ड साउन महिना भित्रै काठमाडौं आइपुग्नेछन् ।


Back_to_top