सरकारी समन्वयको कमीले पास खोज्न भौतारिदै व्यवसायी

काठमाडौं । सरकारले ४४ प्रकारका उद्योग संचालन गर्न दिने निर्णय गरेता पनि उद्योगमा काम गर्ने कर्मचारीलाई पास पाउन नसक्दा धेरै उद्योग र त्यसका संचालक हैरानीमा परेका छन् । सरकारी संयन्त्र बीचको आपसी सहकार्य नहुँदा उद्योग व्यवसाय संचालकले दुःख पाएका हुन् ।

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आफ्ना सदस्यहरुलाई वर्कसप र स्पेयर पार्टसको सेवा प्रदान गर्न कठिनाइ भएको जनाएको छ । सरकारले वर्कशप तथा पार्टस पसलमा काम गर्ने कर्मचारीलाई पास उपलब्ध नगराएको कारण व्यवसाय संचालन गाह्रो भएको हो ।

पछिल्ला दुई दिन भएका परिक्षणमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले लकडाउनमा कडाई गरेको भएपनि संचालन गर्ने उद्योगहरु बन्द गर्ने विषयमा केही नबोलेकाले अटो व्यवसायीहरु अन्योलमा परेका हुन् ।

‘सरकारले खोल्ने भनेको छ । सडकमा पहिलेभन्दा बढी सवारीसाधन गुडेका पनि छन् । तीनलाई सर्भिसिङ गर्ने र आवस्यक पाटपुर्जा चाहिने हुन्छ । तर, कार्यस्थलमा पुग्न हाम्रा कर्मचारीलाई पास उपलब्ध छैन’, नाडाका महासचिब सुनिल रिजालले मेरोअटोसँग भने ।

रिजालका अनुसार वर्कशप तथा पार्टस पलसमा काम गर्ने कर्मचारीको सवारीसाधनलाई पासका लागि कहाँ सम्र्पक गर्ने भन्ने अन्योल रहेको छ । पास लिनका लागि कहिले यातायात कार्यालय, कहिले सिडियो कार्यालय, कहिले गृह मन्त्रालय भनेर अन्योलमा परिएको छ ।

सरकारले लकडाउनमा कढाई गरेतापनि ४४ प्रकारका उद्योग भने बन्द गर्ने निर्णय नभएकाले वर्कशप तथा पार्टस पसल संचालनका लागि नाडाले पास उपलब्ध गराउनका लागि सरोकारवालासँग पहल गरिरहेको उनले जानकारी दिए ।

यो विषम परिस्थितिमा अत्याबश्यक सेवामा काम गरिरहेका सुरक्षाकर्मी, स्वास्थकर्मी पत्रकार, खाध्यान ढुवानी गर्ने साधनहरुको मर्मत तथा सम्भारका लागि नाडाले सबैलाई सेवा प्रदान गर्न आफ्ना सदस्यहरुमा आग्रहपनि गरेको छ ।


Back_to_top