चर्चामा कार्वन न्युट्रल कार, निर्माण प्रक्रिया नै वदल्ने घोषणा

काठमाडौं । भोल्भोको स्वामित्वमा रहेको स्वीडिस इलेक्ट्रीक कार ब्राण्ड पोलिस्टारले विश्वकै पहिलो कार्वन-न्युट्रल कार (शून्य कार्वन उत्र्सजन गर्ने) सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले सन् २०३० सम्म उक्त कार सार्वजनिक गर्ने जनाएको छ ।

यो कार्वन-न्युट्रल कार ‘शून्य उत्सर्जन’को अवधारणा भन्दा पनि धेरै उन्नत रहने छ । यसले कम्पनीलाई कार्वन-न्युट्रलको भिजनको पायोनियर बनाउन सक्ने छ । अटोमोबाइल क्षेत्र र त्यसैका आधारमा बन्ने यातायात क्षेत्रले पृथ्वीको तापक्रम बढाउन र जलवायु परिर्वतन गराउन ठूलो भूमिका खेलिरहेका छन् । विश्वमा इन्धन (फोसिल्स फिउल) जलाएर उर्जा निकाल्नमा अटो क्षेत्र निर्भर रहेका कारण ।

पृथ्वीको बढ्दै गरेको तापक्रम र जलवायु परिर्वतनले पृथ्वी र यहाँ बसोवास गर्ने सबैको स्वास्थ्यमा प्रतिकुल असर पारिरहको छ । बढ्दो समुद्रि सतह र छिटो छिटो परिर्वतन हुने मौसमले अहिलेको र भविष्यको पुस्तालाई धेरै प्रभाव पारिरहेको छ ।

अमेरिकाको ठूला कारहरु निर्माण गर्ने ट्रेण्डले सन् २०१० देखि २०१८ सम्म अत्याधिक कार्वन डाइअक्साइड उत्सर्जन गरेको छ । यी ठूला कारहरुले अन्य साना कारहरुको भन्दा ८५ प्रतिशत बढि हरित ग्यासहरु उत्सर्जन गरेको पाइएको छ ।

सन् २०१५ मा गरिएको पेरिस सम्झौँताले सन् २०५० सम्म युरोपियन युनियनलाई कार्वन-न्युट्रल बनाउने प्रष्ट योजना अघि सारेको छ । सन् २०१९ मा डोनाल्ड ट्रम्प राष्ट्रपति भएको समयमा अमेरिका यो सम्झौँताबाट बाहिरिएको थियो भने सन् २०२१ मा जो बाइडेन राष्ट्रपति भएपछि अमेरिका फेरी यो सम्झौँतामा प्रवेश गरेको छ ।

संयुक्त अधिराज्य सरकारले सन् २०३० सम्म कार्वन डाइअक्साइड उत्र्सजन ६८ प्रतिशतले घटाउने भिजन अघि सारेको छ । उसले आफ्ना कुल ३ करोड ५० लाख कारहरु मध्ये ४६ प्रतिशत कार ‘रिप्लेस’ गराउन सक्ने छ ।

अटोमोबाइल क्षेत्रले सन् २०५० भन्दा अघि नै यी लक्ष्यहरु भेट्टाउनको लागि धेरै अग्रसरताहरु लिइसकेका छन् ।

जनरल मोटर्सले सन् २०४० सम्म कार्वन-न्युट्रल हुनका लागि धेरै अग्रसरताहरु लिइसकेको छ । उसले सन् २०३५ सम्ममा ग्यासबाट चल्ने गाडीहरु निर्माण पूर्णरुपमा बन्द गर्नेछ । अमेरिकाले उत्सर्जन घटाउने आफ्नो प्रतिवद्धतामा खरो उत्रनको लागि सन् २०५० सम्म आफ्ना ९० प्रतिशत कारहरु शून्य-उत्र्सजन बनाउनु पर्ने छ । यो काम गाह्रो रहेको तर असम्भव भने नरहेको जानकारहरुको भनाइ छ । यसका लागि अमेरिकाले सन् २०३५ भित्रमा बिजुली गाडीहरुलाई मात्र विक्रीको अनुमति दिन सक्नेछ ।

तर विजुली गाडीहरु मात्र बेच्ने नियम बनाएर वा पालना गरेर मात्र विश्व कार्वन-न्युट्रल हुन्छ त ?

भोल्भोको स्वामित्व रहको स्वीडीस ब्राण्ड पोलिस्टार भने विजुली गाडी मात्र बेच्ने भन्दा केही अगाडी जाने योजना बनाएको छ ।

उसले समग्र उत्पादन प्रक्रियादेखि लिएर सबै आपुर्तिकताहरु समेतलाई कार्वन-न्युट्रलको अवधारणामा काम गराउने भएको छ ।

पोलिस्टारकी फेड्रिका क्लारेन भन्छिन्, ‘हामी विजुली गाडी बनाउछौं । त्यसकारण हामीले गाडीको उत्र्सजनका बारेमा सोच्नै परेन । तर यतिले मात्र हाम्रो काम सकिदैंन । हामीले उत्पादनको समग्र प्रक्रियाबाट पनि उत्र्सजनलाई निर्मुल पार्नु छ । अन्य धेरै कम्पनीहरुले कार्वन-न्युट्रल बन्नको लागि आफ्नो उत्पादन प्रक्रियाबाट निक्लेको कार्वनलाई ‘अफसेट’ गर्नको लागि रुख रोप्ने गरेका छन् । तर जंगलमा आगो लागेको खण्डमा त झन् धेरै कार्वन उत्र्सजन हुन्छ ।’

पोलिस्टारले रुख रोप्ने छैन । उसले डिजाइन र उत्पादन प्रक्रियाबाटै कार्वन उत्र्सजनलाई निर्मुल पार्ने प्रयास गरेको छ । पोलिस्टारको बुझाइमा यो सबैभन्दा दिगो रणनीति हो । पोलिस्टार अटो क्षेत्रको लागि उदाहरण बन्न चाहन्छ ।

पोलिस्टार अटो क्षेत्रलाई आफ्नो उत्पादन प्रक्रिया र कार्वन उत्सर्जनका बारेमा पारदर्शी हुन आग्रह पनि गरेको छ । यसले पक्कै पनि डिजाइन र उत्पादन प्रक्रियालाई उन्नत बनाउन र विश्वलाई कार्वन-न्युट्रलको दिशामा अघि बढ्न सहयोग पुर्याउने छ ।


Back_to_top