५४ वर्षदेखि नेपालमा रहेको यूरोपियन ब्राण्ड, आफुलाई बदल्न खोज्दैछ

काठमाडौं । सन् १९६८ मा पहिलो पटक फक्सवागेनको गाडी नेपाल आएको थियो । नेपाली कारप्रेमीको बीच प्रसिद्ध फक्सवागेनका कार विगत १२ वर्षदेखि विशाल ग्रुप अन्तर्गतको पुजा इन्टरनेशनल नेपालले विक्री गर्दै आएको छ ।

विगत १२ वर्षमा नेपालमा थुप्रै नयाँ ब्राण्ड आए तर, कमैले आफ्नो वलियो उपस्थिति बनाउन सक्यो । त्यसरी बलियो उपस्थिति बनाउनेमा फक्सवागेन अग्रस्थानमा आउँछ ।

सन् २०१० सेप्टेम्बरबाट नेपाल आएको फक्सवागेनले छोटो समयमा नै एक हजार यूनिटको विक्री तथ्यांक भेट्टाउन सफल भएको थियो । विशेषगरी पैसा खर्च गर्न सक्नेहरुको लागि टोरेक, पसाट, टिगुवान जस्ता गाडी पुजा इन्टरनेशनलले ल्याएको थियो भने चर्चित क्लासिक मोडल विटल पनि ल्याएको थियो ।

समयक्रमसँगै फक्सवागेनको चर्चा सेलायो । भारतीय उत्पादनको रुपमा पोलो र भेन्टो बजारमा ल्याएर आफ्नो ग्राहक संख्या वृद्धि गर्दै लगेको कम्पनीले यूरोपियन मोडल ल्याउन लगभग बन्द गरेसँगै कम्पनीको चर्चा धनाढ्यको बीचमा हुनुको सट्टा मध्यम वर्गमा हुन थाल्यो । पोलो प्रिमियम ह्याचव्याक सेग्मेन्टमा निकै सफल मोडलको रुपमा नेपालमा स्थापित भएको छ । जुन अहिले पनि निरन्तर देख्न सकिन्छ ।

अहिले नेपालका विभिन्न १० स्थानमा सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा दिने नेटवर्क संचालन गरिरहेको कम्पनीले भोलि बुधबारबाट काठमाडौंको नक्सालमा नयाँ सुविधा सम्पन्न ‘स्टेट अफ आर्ट’ शोरुम संचालनमा ल्याउने तयारी गरेको छ । यसअघि काठमाडौंको थापाथली, तिनकुने, सोल्टीमोड र पानीपोखरीमा शोरुम रहेको फक्सवागेनले नयाँ शोरुम थप्न लागेको हो । नयाँ शोरुमले उपत्यकामा उत्कृष्ट सर्भिसको खोजीमा रहेका ग्राहकलाई सेवा प्रदान गर्ने कम्पनीको भनाई छ ।

उपत्यका बाहिर पूर्व प्रदेश १ मा विराटनगर, बागमती प्रदेशको तासिखेल ललितपुर र चितवनको नारायणगढ, गण्डकी प्रदेशमा पोखरा, लुम्बिनी प्रदेशमा भैरहवा, बुटवल र दाङमा थ्रि एस सुविधा उपलब्ध रहेको छ ।

त्यसैगरी मधेस प्रदेशमा बिरगंज र सुदुरपश्चिम प्रदेशको धनगढीबाट सेवा दिदै आएको छ । प्रदेशगत रुपमा हेर्दा कर्णाली बाहेक अन्य सबै प्रदेशमा कम्पनीको उपस्थिति रहेको देखिन्छ ।

फक्सवागेनले विगत १२ वर्षमा टिगुवान, पसाट, टोरेक, विटल, पोलो, भेन्टो, एमियो, गल्फ, जेटा, एमरोक जस्ता मोडल नेपाल ल्याएको थियो । अहिले भारतीय बजारमा उत्पादन भएको कम्प्याक्ट एसयूभी टाइगुन ल्याएर कम्पनीले आक्रमक मूभ बनाउन खोजेको छ ।

फक्सवागेनको ध्यान विद्युतीय गाडीमा केन्द्रित भएको कारण चाँडै नेपाली बजारमा पनि विद्युतीय गाडी आउने अपेक्षा गर्न सकिन्छ ।

यतिभन्दा भन्दै पनि कम्पनीले भोलिका दिनमा लिने रणनीतिले बजारमा कस्तो प्रभाव पर्ला त्यो भने अझै केही समय कुर्नु पर्ने हुन्छ ।

विश्वकै चर्चित र धेरै गाडी उत्पादन गर्ने ब्राण्डको हिसावले फक्सवागेनको नेपालमा पनि राम्रो भविष्य देख्न सकिन्छ ।


Back_to_top