काठमाडौं । विश्व प्रसिद्ध जर्मन ब्राण्ड फक्सवागेनले तीन नयाँ इलेक्ट्रीक मोडल बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ । कम्पनीले इन्ट्री लेभल इलेक्ट्रीक कार, क्रसओभर र कम्प्याक्ट एसयूभी गरी तीन नयाँ मोडल बजारमा ल्याउने तयारी गरेको हो ।
कम्पनीले अहिले अन्तर्राष्ट्रिय बजारमा विक्री गर्दै आएको ह्याचव्याक कार आईडी ३ मा आधारित कम्प्याक्ट एसयूभी बजारमा ल्याउने घोषणा गरेको छ । कम्पनीका सीईओ थोमस सेफरले आईडी ३ मा आधारित एसयूभी ल्याउन लागेको जनाएका हुन् ।
फक्सवागेनले ल्याउने नयाँ एसयूभी सन् २०२६ सम्ममा बजारमा आउने जानकारी दिदै सेफरले भने, ‘हामी तिब्र गतिमा माग बढ्दै गएको कम्प्याक्ट एसयूभी सेग्मेन्टमा चाँडोभन्दा चाँडो उपस्थिति जनाउन हामी काम गरिरहेका छौं ।’
फक्सवागेनको एमईबी प्लेटफर्ममा यो एसयूभी बन्ने छ । यसको अलावा कम्पनीले दुई साना कार बजारमा ल्याउने छ । विशेषगरी बजेट कार खोज्ने ग्राहकको लागि कम्पनीले इन्ट्री लेभल कार बजारमा ल्याउन लागेको हो । त्यसमा एउटा सानो ह्याचव्याक हुनेछ भने अर्को क्रसओभर मोडल हुनेछ ।

सम्भवत कम्पनीले ल्याउने नयाँ ह्याचव्याक कार अहिले चल्तीमा रहेको कम्बस्चन इन्जिन युक्त पोलोको साइजमा हुनेछ । अर्को क्रसओभर भने अन्तर्राष्ट्रिय बजारमा विक्री वितरण हुँदै आएको टी क्रस वा नेपालमा विक्री हुने टाइगुनको साइजमा रहने छ ।
फक्सवागेनले सन् २०२६ सम्ममा १० नयाँ ईभी मोडल ल्याउने योजना मुताविक यी नयाँ मोडल ल्याउन लागेको हो । कम्पनीले ल्याउने १० मोडल सबै किसिमको ग्राहकको माग सम्बोधन गर्ने किसिमको हुन्छ । अहिले फक्सवागेन ग्रुप विश्वकै तेस्रो ठूलो ईभी उत्पादन हो ।


