अटो शोमा बुकिङ गर्नेले कहिले पाउँछन् प्रिमियम मोटरसाइकल (मूल्यसहित)

काठमाडौं । यस वर्षको नाडा अटो शो २०२४ मा धेरै नयाँ मोटरसाइकल प्रदर्शनी भएको थियो । ती मध्ये अधिकांश मोडल दशैं गाडि नै बिक्री सुरू हुँदैछन् ।

अटो शोमा सबैजसो ब्रान्डले प्रिमियम मोटरसाइकल सार्वजनिक गरेका थिए । जहाँ हिरोले ४ मोडल प्रर्दशनी गरेको थियो । रोयल इनफिल्ड, सुजुकी, बजाज, यामाहा र सीएफ मोटोले एकएक नयाँ मोडल देखाएका थिए ।

नयाँ ब्राण्डको रुपमा नेपाल आएको ट्रायम्फले ४०० सीसीका दुई मोटरसाइकल अटो शोबाटै बुकिङ लिएको थियो । सम्भवत ट्रायम्फ अटो शोमा सबैभन्दा धेरै बुकिङ लिने मोटरसाइकल ब्राण्ड हो ।

रोयल इनफिल्डले सार्वजनिक गरेको एड्भेन्चर मोटरसाइकल हिमालयन ४५० कम्पनीले नाडा अटो शो देखिनै डेलिभरी दिन सुरू गरेको छ । सीएफ मोटोले केही दिन भित्रमै डेलिभरी गर्ने जनाएको छ ।

मूल्यको कुरा गर्दा रोयल इनफिल्डले ९ लाख ९८ हजार रुपैयाँ सुरुवाती मूल्य राखेर हिमालयन ४५० बिक्री सुरु गरेको हो । सीएफ मोटोले ४५० एमटीको मूल्य १२ लाख ५० हजार रुपैयाँ तोकेको छ ।

त्यस्तै, बजाजको पल्सर सिरिजकै सबैभन्दा ठूलो र फिचर लोडेड मोटरसाइकल ‘पल्सर ४०० जेड’ सार्वजनिक गरेको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाशचन्द एण्ड कम्पनीले ५ लाख ४९ हजार ९०० रुपैयाँ तोकेर एनएस ४०० को बुकिङ लिएको हो । फेस्टिभ सयममा डेलिभरी दिने तयारी थालेको छ ।

त्यसैगरी, यामाहाले एड्भेन्चर सेग्मेन्टको डब्लूआर १५५ को मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकेर बुकिङ खुला गराएको थियो । कम्पनीले ग्राहकको बुकिङ अनुसार मोटरसाइकल कार्तिक महिनामा डेलिभरी दिने जनाएको छ ।

नेपाली बजारमा सुजुकीका मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने भीजी अटोमोवाइल्सले २५० सीसी एड्भेन्चर मोटरसाइकल भी स्ट्रोम २५० सार्वजनिक गरेको थियो । कम्पनीले ६ लाख ९९ हजार ९०० रुपैयाँ तोकेर बुकिङ लिइरहेको मोटरसाइकल दशैं अगाडि नै डेलिभरी सुरू गर्ने जनाएको छ ।

सिजी मोटर्सले हिरो एक्सपल्स २०० फोर भी प्रो, एक्सएमआर करिज्मा २१०, एक्स्ट्रीम १२५ आर र एक्स्ट्रीम १६० आर फोर भी फेस्टिभ सिजनमा बिक्री सुरू गर्ने तयारी थालेको छ । कम्पनीले कुनै पनि मोडलको मूल्य सार्वजनकि गरेको छैन ।

ट्रायम्फले दशैंअघि नै मोटरसाइकल डेलिभरी दिने योजना बनाएको छ । कम्पनीले नक्शालमा ट्रायम्फको शोरुम समेत तयार गरिसकेको छ । कम्पनीले ट्रायम्फ स्पीड ४०० को मूल्य ६ लाख ३४ हजार ९०० र स्क्रयाम्वलर ४०० एक्सको मूल्य ६ लाख ८९ हजार ९०० रुपैयाँ तोकेर बुकिङ लिइरहेको छ ।


Back_to_top