५७ मिनेटमै २५ हजार यूनिट बुकिङ भयो महिन्द्रा ‘एक्सयूभी-७००’, नेपाल आउँदै

काठमाडौं । महिन्द्राले भारतीय बजारमा ल्याएको नयाँ एसयूभी ‘एक्सयूभी-७००’ ले बुकिङमा नयाँ रेकर्ड बनाएको छ । हिजो बिहिबार कम्पनीले यसको २५ हजार यूनिट बुकिङ खुल्ला गरेको थियो ।

कम्पनीले २५ हजार ग्राहकलाई सुरुवाती मूल्यमा गाडी दिने जनाएको थियो । २५ हजार यूनिट बुकिङ पुरा भएकोले नयाँ २५ हजार यूनिटको लागि पुनः नयाँ मूल्य सार्वजनिक गर्ने जनाएको छ ।

एक्सयूभी ७०० को बुकिङमा देखिएको उत्साहपछि कम्पनीका अटोमोटीभ डिभिजनका सिइओ विजय नाकराले भने, ‘हामीले विहान १० बजे बुकिङ खुल्ला गरेका थियौं । बुकिङ खोलेको ५७ मिनेटमा नै २५ हजार यूनिट एक्सयूभी ७०० सोल्ड आउट भयो । अहिले बुकिङ भएका सबै भेरियन्ट हामी ६ महिना भित्र डिलिभरी दिने छौं ।’

महिन्द्रा एक्सयूभी ७०० लाई कम्पनीले दुई इन्जिन अप्सन र ४ भेरियन्टमा भारतमा विक्री सुरु भएको छ । ५ र सात सिट क्षमतामा आफ्नो आवस्यकता अनुसार ग्राहकले किन्न सक्ने छन् । २.० लिटर फोर सिलिण्डर टर्बो पेट्रोल इन्जिन र २.२ लिटर फोर सिलिण्डर डिजेल इन्जिन यसमा दिइएको छ । यसमा सिक्स स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भर्टर अटोमेटीक गियरबक्स दिइएको छ ।

भारतमा ११ लाख ९९ हजारदेखि २२ लाख ८९ हजारसम्म मूल्य कायम गरेर विक्री सुरु भएको एक्सयूभी ७०० नोभेम्बरमा नेपाल आउने अनुमान गरिएको छ । अग्नी इन्कर्पोरेटले नेपालमा विक्री गर्ने एक्सयूभी ७०० को सुरुवाती मूल्य ५८ लाखदेखि १ करोड १० लाखसम्म रहने अनुमान गरिएको छ ।


Back_to_top