महिन्द्राको दोस्रो ईभी परीक्षणमा, ब्याट्री साइज ठूलो रहने

काठमाडौं । भारतीय एसयूभी एक्सपर्ट महिन्द्रा एण्ड महिन्द्राले आफ्नो दोस्रो इलेक्ट्रीक एसयूभीको परीक्षण सुरु गरेको छ । कम्पनीले एक्सयूभी ८०० नामबाट ल्याउने इलेक्ट्रीक एसयूभीको परीक्षण सुरु गरेको हो ।

भारतीय अटो निर्माताले विद्युतीय गाडीको उत्पादन र विकासको लागि १० अर्व भारतीय रुपैयाँ लगानी थप्ने निर्णय लिएको छ । कम्पनीले गर्ने थप लगानीले अहिले बिक्री हुँदै आएका एसयूभीलाई इलेक्ट्रीकमा ल्याउन र नयाँ बर्न इलेक्ट्रीक मोडलको विकासमा खर्च गर्ने जनाएको छ ।

महिन्द्राले गतवर्ष आफ्नो डिजाइन हेडक्वाटर यूकेमा पाँचवटा ईभीको शोकेश गरेको थियो । जसमा २ वटा पुराना मोडललाई ईभी बनाएको थियो भने तीनवटा नयाँ बर्न ईभी थियो ।

पुरानो दुई मध्येको एक मोडल एक्सयूभी ४०० अहिले भारतमा बिक्री सुरु भइसकेको छ । चाँडै उक्त मोडल नेपालमा पनि बिक्री सुरु गर्ने तयारी भइरहेको छ । अर्को अहिलेको चर्चित मोडल एक्सयूभी ७०० को ईभी भर्सन देखाएको थियो ।

जसरी एक्सयूभी ३०० को ईभी भर्सन एक्सयूभी ४०० भएर आएको थियो । त्यसैगरी एक्सयूभी ७०० को ईभी भर्सन एक्सयूभी ८०० को नामले आउने अनुमान गरिएको छ । यसको अहिले सडक परीक्षण भइरहेको तस्बिर बाहिर आएको हो ।

परिक्षणका क्रममा देखिएको एक्सयूभी ८०० साटिन कपर सेडमा देखिएको थियो । कम्पनीले एक्सयूभी ४०० मा जस्तै एक्सयूभी ७०० को तुलनामा एक्सयूभी ८०० ईभीमा थुप्रै परिमार्जन गर्ने देखिएको छ । नयाँ एक्सयूभी ८०० को ड्यासबोर्डमा दुईवटा डिस्प्लेको ठाँउमा तीनवटा स्कृन रहनेछ ।

कम्पनीले दिएको तीन डिस्प्ले स्कृन मध्ये पहिलो ड्राइभ इन्ट्रुमेन्ट, बीचमा रहेको दोस्रो इन्फोटेन्मेन्ट तथा तेस्रो डिस्प्ले चाहिँ फ्रन्ट प्यासेन्जरका लागि रहनेछ ।

महिन्द्राको आफ्नै ‘इनग्लो प्लेटफर्म’

महिन्द्राले इलेक्ट्रीक कारका लागि मोडुलर स्केलेवल इनग्लो (इन्डिया ग्लोबल) प्लेटफर्मको विकास गरेको छ । यो प्लेटफर्ममा ६० देखि ८९ किलोवाट आवर साइजको ब्याट्री प्याक र रियर ह्वील ड्राइभ तथा अल ह्वील ड्राइभ अप्सन रहने छ ।

महिन्द्राले यो प्लेटफर्म विकास गर्न जर्मन अटोमोवाइल जायन्ट फक्सवागेनसँग साझेदारी गरेको छ । यहि प्लेटफर्ममा आधारित भएर महिन्द्राले आगामी दिनमा १० लाख ईभी बनाउने छ ।


Back_to_top