अर्बौ लगानीका एसेम्बली उद्यगो बन्द हुन सक्ने नाडाको चेतावनी

काठमाडौं । एसेम्बली उद्योगमा सरकारले दिदै आएको सुविधा कटौती नगर्न नाडाले सरकारसँग माग गरेको छ । सरकारले नेपालमा सवारी साधनहरुको एसेम्बली उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न त्यसमा लाग्ने महशुलहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरु दिदै आएकोले यस बजेटले पनि निरन्तरता दिनु पर्ने माग गरेको छ ।

सरकारको एसेम्बलीलाई प्रोत्साहन गर्ने नीति लिएकै कारण ४ वटा दुई पाङ्गे्र सवारीसाधनहरुको एसेम्बल उद्योगहरुले उत्पादन गरिरहेको र थप दुईवटा उद्योगहरु तत्कालै उत्पादनमा जाने अवस्था रहेको नाडाले जनाएको छ ।

दुई पाङ्ग्रे र चारपाङ्गे्र सवारीसाधनहरु उत्पादन तथा एसेम्बल गर्ने उद्योग थप खुल्ने क्रममा रहेको भन्दै नाडाले जारी विज्ञप्तीमा भनिएको छ, ‘सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटमा त्यस्ता उद्योगलाई दिइदै आएको महशुलमा छुट लगायत नीतिगत सुविधाहरुलाई कटौटी गर्न लागेको भन्ने विषयमा त्यसको मुख्य सरोकारवाला संस्था नाडाको विशेष ध्यान आकृष्ट भएको छ ।’

सवारी साधनको एसेम्बल तथा उत्पादन उद्योग खोल्दा नेपालमा विदेशी प्रविधिको हस्तान्तरण हुन गई नेपाली प्राविधिज्ञहरुको क्षमता विकासमा ठूलो सहयोग पुग्ने भएको कारण यस्ता छुटलाई निरन्तरता दिन नाडाले माग गरेको छ ।

एसेम्बल उद्योगको कारण, त्यहीसँग आश्रित भएर कैयन अन्य उद्योगहरुको पनि स्थापना हुने गर्छ । अझ भनौ यसको क्षेत्र वहुआयामिक हुन्छ । सरकारले यस्ता तथ्यहरुलाई नजर अन्दाज गर्दै भएकै सुविधाहरुलाई समेत कटौती गर्ने नीति ल्याएमा त्यस्ता एसेम्बल उद्योगमा लगानी गरिरहेका उद्योगी व्यवसायीहरुको ठूलो लगानी डुब्ने मात्र नभई नेपालको ओद्यौगिकरणको दौड पनि अझै पछाडि पर्ने निश्चित रहेको नाडाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सरकारले सवै नागरिकले सवारी साधन प्रयोग गरुन भन्ने उद्देश्यले सोही अनुरुप नीतिगत प्रोत्साहनका प्याकेजहरु ल्याउदै जानु पर्नेमा थोरै बर्षको अन्तरालमा भएकै नीतिहरुलाई समेत पटक पटक हेरफेर गर्दै जाने हो, भने नेपालमा एसेम्बलिङ्ग उद्योग खुल्ने त कुरै छाडौ भएकै एसेम्बल उद्योगहरु पनि बन्द हुने अवस्था आउने छ ।


Back_to_top