बीवाइडीको विक्रेता साइमेक्स इंकले १५०० रूख रोप्दै

काठमाडौं । नेपालका लागि बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘बिल्डिङ ड्रिम्स एण्ड फरेस्ट’ नामक अभियानको सुरूआत गरेको छ ।

कम्पनीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत विश्व जैविक विविधता दिवसको अवसरमा यो रणनीतिक अभियान सुरू गरेको बताएको हो ।

यस योजना अनुसार कम्पनीले २०६२ सालमा अवैध बालुवा उत्खनन र वन फँडानीको शिकार भएको चखन्दोल सामुदायिक वनको पुनःस्थापना र पुनरुत्थान गर्ने लक्ष्य राखेको छ ।

रिभोलुसन प्रोजेक्टसँगको सहकार्यमा साइमेक्सले इनोभेटिभ मियावाकी टेक्निक प्रयोग गर्दै १ हजार ५०० वटा रूख रोप्ने कार्यको नेतृत्व गर्नेछ ।

यस कार्यक्रमको सुरूवातले बीवाइडीको भिजन ‘कुल द अर्थ बाइ वान डिग्री’सँगै वातावरणीय दिगोपन र जैविक विविधता संरक्षणमा कम्पनीको अटल प्रतिबद्धता रहेको कम्पनीले बताएको छ ।

कम्पनीले यस क्षेत्रको पुनरुत्थानमा मात्र योगदान पुर्याउने नभएर पारिस्थितिक सन्तुलनमा ७ देखि ८ वटा विभिन्न प्रजातिका चराहरू फिर्ता ल्याउन पनि मद्दत गर्ने जनाएको छ ।

विश्वको सबैभन्दा प्रदूषित सहर भएको काठमाडौं लामो समयदेखि वायु प्रदूषणका हानिकारक प्रभावहरू झेल्दै आएको छ । यस्तोमा यस अभियान अन्तर्गत वृक्षरोपणका पहिलो वर्षमा आयोजनाले ८२७ टन अक्सिजन उत्पादन गर्ने र ३१० टन कार्बन भण्डारण गर्ने प्रक्षेपण गरिएको छ ।

त्यसैगरी, ५ वर्षको अवधिमा बीवाइडी फरेस्टले १५५० टन कार्बन सिक्युस्टेरिङ (कार्बन डाइअक्साइड जस्ता हानिकारक पदार्थलाई सुरक्षित राख्ने तरिकाले छुट्याउनु र भण्डारण गर्नु) गर्दै ४१३३ टन अक्सिजन उत्पादन गर्ने लक्ष्य राखेको छ ।

साइमेक्स इंकका प्रमुख मार्केटिङ अफिसर समीर श्रेष्ठ भन्छन् ‘हाम्रो ‘बिल्डिङ ड्रिम्स एण्ड फरेस्ट’ अभियानले बीवाइडीको मूल मूल्य मान्यता र दिगो भविष्य सिर्जना गर्ने प्रतिबद्धताको प्रतीक बन्ने छ । हामी रिभोलुसन प्रोजेक्टसँग सहकार्य गर्न पाउँदा र चखन्दोल सामुदायिक वनको पुनःस्थापना गर्न प्राविधिक आविष्कारको लाभ उठाउन पाउँदा गर्व गर्छौ । यो पहलले वातावरणीय ह्रास विरुद्ध लड्न हाम्रो समर्पण मात्र देखाउँदैन तर अरूलाई पनि कदम चाल्न र जैविक विविधता संरक्षणमा योगदान गर्न प्रेरित गर्छ ।’


Back_to_top