जेडएस ईभी तीन भेरियन्ट किन्न पाइने, मूल्य भने ३३ लाख ५० हजार फरक

काठमाडौं । एमजीले नेपाली बजारमा बिक्री गर्दै आएको जेडएस ईभीको मूल्यमा भेरियन्ट अनुसार ३३ लाख ५० हजार रुपैयाँसम्म फरक पाउन सकिन्छ ।

कम्पनीले बिक्री गर्दै आएको जेडएस ईभीको स्टायण्डर्ड रेन्ज डिलक्स भेरियन्टको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ रहेको छ भने, लङ रेन्ज मोडलको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

एउटै मोडल भएपनि लङ रेन्ज जेडएस ईभीमा ११५ किलोवाट आवरको मोटर रहेको कारण धेरै कर लाग्ने हुँदा मूल्यमा ३३ लाख ५० हजार रुपैयाँ फरक हुन आएको हो ।

सरकारले १०१ किलोवाट माथि २०० किलोवाट क्षमतासम्मका मोटर रहेको ईभीमा ३० प्रतिशत भन्सार, ३० प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक निर्माण कर लाग्ने भएको कारण जेडएस लङ रेन्ज मोडलको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ पुगेको हो ।

जबकी ९९ किलोवाटको मोटर भएको ईभीमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक निर्माण कर लाग्दै आएको छ । एमजीले बिक्री गर्दै आएको स्टायण्डर्ड भेरियन्टमा ९९ किलोवाटको मोटर छ । यसको कम्फर्ट भेरियन्टको मूल्य ५२ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध एमजी जेडएस ईभी अहिले निकै रुचाइएको मोडल हो । यसको स्टायण्डर्ड रेन्ज डिलक्स मोडल सबैभन्दा सस्तो मोडल हो भने, लङ रेन्ज मोडल सबैभन्दा महंगो छ ।

एमजीले जेडएस ईभीमा एमजी पाइलटको प्रयोग गरेको छ । जसमा विभिन्न किसिमका सुरक्षा फिचर पाउन सकिन्छ । सर्ट रेन्जमा ५१ किलोवाट आवर र लङ रेन्जमा ७२ किलोवाट आवरको ब्याट्री दिइएको छ । रेन्जमा दुबै मोडलमा १२० किलोमिटर फरक पर्छ ।

डब्लूएलटीपीको परीक्षण अनुसार ५१ किलोवाट आवरको ब्याट्रीलाई सिंगल चार्जमा ३२० किलोमिटर र ७२ किलोवाटको लङ रेन्ज मोडलले ४४० किलोमिटर प्रदान गर्छ ।


Back_to_top