काठमाडौं । यामाहाको पहिलो इलेक्ट्रीक स्कुटर ईसी ०६ भारतमा सार्वजनिक भएको छ । कम्पनीले भारतीय बजारमा ईसी ०६ स्कुटरको मूल्य १ लाख ६७ हजार भारु (एक्स शोरुम) तोकेर बिक्री सुरू गरेको हो ।
कम्पनीले ‘मास प्रोडस्कन’ सुरू गरेको १ महिनापछि ईसी ०६ स्कुटर भारतीय बजारमा आधिकारिक रूपमा बिक्री थालेको हो ।
यामाहाले दुईपाँग्रे इलेक्ट्रीक स्टार्टअप कम्पनी रिभरको कर्नाटकको होस्कोटस्थित प्लाण्टबाट ईसी ०६ को मास उत्पादन गरेको हो । यामाहा र रिभर इन्डिया बीच यसअघि नै इलेक्ट्रीक स्कुटर उत्पादन सम्झौता भइसकेको थियो । त्यसैकारण यामाहाको इलेक्ट्रीक मोडलहरू रिभरकै प्लान्टमा निर्माण हुन्छ ।
स्कुटरको उत्पादन रिभरले आफ्नो प्लाण्टमा गरे पनि बिक्री र सर्भिसिङ भने यामाहाको डिलर नेटवर्क मार्फत नै हुनेछ।
साथै, यामाहाले ईसी ०६ लाई रिभरको इन्डीको स्कुटर प्लेटफर्ममै बनाएको हो । तर, यस स्कुटरको डिजाइन भने फरक रहेको छ । ईसी ०६ मा प्रयोग गरिएको धेरैजसो मेकानिकल पार्टपुर्जा र अन्य फिचरहरू पनि रिभर इन्डी स्कुटरबाटै लिइएको छ ।

ईसी ६ मा ४ किलोवाट आवरको ब्याट्रीप्याक छ । यसमा ६.७ किलोवाटको मिड माउन्टेड मोटर छ । यसले २६ एनएम टर्क जेनेरेट गर्छ । यामाहाको यस ई स्कुटरले एकपटकको फुलचार्जमा १६९ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यसको टप स्पीड ९० किलोमिटर प्रतिघण्टा रहेको छ ।
दैनिक प्रयोजनका लागि उपयुक्त हुने यामाहा ईसी ०६ मा कनेक्ट सिस्टम सहितको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एलईडी हेडलाइट्स, एलईडी टेललाइट्स, इको, स्ट्यान्डर्ड र पावर मोड, हाइड्रोलिक ड्याम्पर्स, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, डबल डिस्क ब्रेक, कम्बी ब्रेकिङ सिस्टम लगायत फिचरहरू छन् ।
यामाहाका पेट्रोल स्कुटर नेपाली बजारमा बिक्री भइरहेकाले इलेक्ट्रीक पनि चाँडै आउने सम्भावना देखिन्छ ।

