काठमाडौं । भारतीय दुईपाँग्रे सवारी उत्पादक टीभीएसले नयाँ स्टन्ट मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले भारतमा नयाँ आरटीआर हाइपर स्टन्ट मोटरसाइकल उत्पादन गर्न पेटेन्ट फाइल दर्ता गरेको हो ।
पछिल्लो समय युवा पुस्तामा बढ्दै गइरहेको स्टन्ट क्रेजलाई मध्यनजर गर्दै कम्पनीले हाइपर स्टन्ट नामक नयाँ मोडलको मोटरसाइकल लयाउन लागेको हो ।
इक्मा अटोशो २०२५ मा पहिलो पटक प्रदर्शन गरिएको यो मोटरसाइकलको डिजाइन अब भारतमा उत्पादन हुने भएको हो ।
यो कुनै साधारण सडकमा गुड्ने मोटरसाइकल नभई पूर्ण रूपमा स्टन्ट राइडिङ प्रेरित मोडल हो । स्टन्ट रेडी डिजाइन आधारित यो मोटरसाइकलमा ह्वीली बारसहितको टेल सेक्सन, स्टन्ट गर्दा खुट्टा अड्याउन मिल्ने रेसेस, ह्याण्ड ब्रेक कन्ट्रोल, एक्स्ट्रा ब्रेक लिभर, चौडा ह्याण्डल बार र लामो सिंगल सीट हुने छ ।
पेटेन्ट डिजाइन अनुसार यो मोटरसाइकलमा हेडलाइट छैन । त्यसैले मुख्यतया रेस ट्र्याक वा स्टन्ट क्षेत्रका लागि मात्र हुने संकेत गर्छ ।
साथै, हाइपर स्टन्ट मोटरसाइकलमा यूएसडी फ्रन्ट फोर्क, रियर मोनोशक र अण्डरबेली एग्जस्ट रहने देखिन्छ ।


