नेपालमा बनेको यात्री मोटरसाइकल ‘सोल्ड आउट’, अब नयाँको तयारी

काठमाडौं । नेपाली युवा इन्जिनियरको टीमले नेपालमा नै बनाएको इलेक्ट्रीक मोटरसाइकल ‘यात्री पी-०’ गत पुस ३ गते काठमाडौंमा एक कार्यक्रमगरि सार्वजनिक गरिएको थियो । उक्त मोटरसाइकल पुरै सोल्डआउट भएको छ ।

उक्त मोटरसाइकल सार्वजनिक सँगै कम्पनीले बुकिङसमेत खुल्ला गरेको थियो । यात्री पी-० लाई लिमिटेड एडिसनको रुपमा कम्पनीले ५० यूनिट मात्र उत्पादन गर्ने जनाएको थियो ।

उक्त कार्यक्रममा नै ज्योति समूहका संचालक तथा स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले पहिलो ग्राहकको रुपमा यसको बुकिङ गरेका थिए । त्यसपछि सुरु भएको बुकिङ पुरा भएको कम्पनीले जनाएको छ ।

‘हामीले बुकिङ खुल्ला गरेको केही दिनमा करिब ३०० भन्दा बढीले यसलाई किन्न चाहनु भएको थियो । यो लिमिटेड एडिसन भएकाले हामीले सबैलाई दिनसक्ने अवस्था थिएन । सुरुवातमा आएका ५० जनालाई दिने निर्णय गरेका छौं’, कम्पनीका एक संचालकले मोरोअटोसँग भने ।

यस्तो छ यात्री पी-०

यसमा ३० किलोवाटको मोटर प्रयोग गरिएको छ । अहिले बजारमा रहेका अन्य इलेक्ट्रीक मोटरसाइकलको तुलनामा यसको पावर अत्यन्त धेरै रहेको छ । ४० बीएच पावर र १२० एनएम टर्क प्रदान गर्ने यो मोटरसाइकल एक पटकको फुल चार्जमा २३० किलोमिटर चलाउन सकिन्छ ।

० देखि ६० किलोमिटरको स्पीड ४ सेकेन्डभन्दा कम समयमा भेट्टाउने यो मोटरसाइकलले ० देखि १०० किलोमिटरको रफ्तार ६ सेकेन्डभन्दा कम समयमा भेट्टाउन सक्छ ।

‘यसको टप स्पीड १२० किलोमिटर रहेको छ । तर, यसलाई सहजै १४० किलोमिटरको रफ्तारमा लग्न सकिने डिजाइनर असिम पाण्डेले जानकारी दिए ।

यो मोटरसाइकल पावरको हिसावले केटीएम ड्यूक ३९०, रोयल इन्फिल्डलगायत मोटरसाइकललाई जित्ने किसिमको छ । यसका डिजाइनर तथा यात्रीका प्रमुख असिम पाण्डेका अनुसार यसमा लागेका हरेक पाटर्स प्रिमियम छन् भने यसको मुख्य आकर्षण डिजाइन र प्रिमियमनेस हो ।
हाइटेक इन्जिनियरिङ्ग रहेको ‘पी-०’ मोटरसाइकलको मूल्यभन्दा यसको उत्कृष्टता ठूलो विषय रहेको पाण्डेको दाबी छ ।

यसमा ६ किलोवाट पर आवरको व्याट्री प्याक दिइएको छ भने यसमा ८ वर्षको वारेन्टि दिइएको छ । इभी टेक आइसी इन्जिनसँग प्रतिस्पर्धा गर्ने भएकाले यसमा उत्कृष्टता कसरी पाउने भन्ने विषयमा कम्पनीले काम गरिरहेको जनाएको छ ।

यसमा प्रयोग भएको लिथियम आयोन व्याट्री यही डिजाइन भएको हो भने यसको चार्जिङ लाइफसाइकल २००० पटक रहेको छ । यसलाई हामीले कोरियन कम्पनीसँग सम्झौंता गरेर काम गरिरहेको कम्पनीले जनाएको छ ।

नयाँको तयारी

कम्पनी स्रोतका अनुसार यात्री पी-० मूल्यको हिसावले केही महंगो रहेकाले अब भोल्यूममा उत्पादन गर्ने तयारीका साथ काम अघि बढी रहेको छ । कम्पनीले अब बनाउने मोटरसाइकल २०० सीसी क्षमताका कम्बस्चन इन्जिन युक्त बाइकसँग प्रतिस्पर्धा गर्ने किसिमको हुने जनाइएको छ ।


Back_to_top