यात्रीको ‘पी २’ ले पायो नेपालमै पहिलो पटक अस्थायी नम्बर प्लेट

काठमाडौं । नेपाली इलेक्ट्रीक मोटरसाइकल निर्माता यात्रीले आफ्नो नयाँ मोटरसाइकल ‘पी २’ प्रोटोटाइपका लागि अस्थायी नम्बर प्लेट पाएको छ ।

कम्पनीले सामाजिक सञ्जाल मार्फत यात्री पी २ प्रोटोटाइपले हालै यातायात व्यवस्था विभागबाट अस्थायी नम्बर प्लेट पाएको जानकारी दिएको हो ।

यात्रीको पी २ मोटरसाइकललाई विभागले बागमती प्रदेश ०२००१ अ ०००१ अस्थायी नम्बर दिएको छ । नेपालमा उत्पादित मोटरसाइकलले अस्थायी नम्बर प्लेट पाएको यो पहिलो पटक हो ।

कम्पनीले यो उपलब्धिलाई ऐतिहासिक भनेको छ । यस कार्य आफ्ना अनुसन्धान तथा विकास (आर एण्ड डी) प्रयासका लागि महत्त्वपूर्ण प्रोत्साहन भएको यात्रीले जनाएको छ । साथै, स्वदेशी विद्युतीय सवारी नवप्रवर्तनतर्फ एक महत्त्वपूर्ण कदम भएको कम्पनीको भनाइ छ ।

‘दर्ता प्रक्रिया नभएको अवस्थादेखि आजको यस उपलब्धिसम्म हाम्रो टिमलाई बधाई तथा पी–२ प्रोटोटाइपका लागि देशकै पहिलो अस्थायी दर्ता नम्बर प्लेट जारी गरिदिएकोमा यातायात व्यवस्था विभागलाई धेरै धन्यवाद,’ यात्रीले भनेको छ, ‘यो दूरदर्शी र प्रगतिशील सहयोगले हाम्रो आर एण्ड डी कार्यमा ठूलो ऊर्जा दिएको छ । र, स्वदेशी विद्युतीय सवारी नवप्रवर्तनतर्फ एक महत्त्वपूर्ण कदम अगाडि बढाएको छ ।’

यात्री नेपालमै उत्पादन भएर यातायात व्यवस्था विभागमा दर्ता हुने पहिलो मोटरसाकइल ब्राण्ड समेत हो । यात्रीको पहिलो मोटरसाइकल पी १ ले २०८० जेठ १ गते पहिलोपट नम्बर प्लेट पाएको थियो । बागमती प्रदेश यातायात कार्यालय गुर्जुधाराले यात्री डिजाइन स्टुडियो प्रालिको नाममा पहिलो नम्बर प्लेट ‘बागमती प्रदेश ०२९०४३ प ८६५०’ दिएको थियो ।

नेपालमा उत्पादित सवारीसाधन दर्ता हुने व्यवस्था नहुँदा यात्रीका मोटरसाइकल लामो समयसम्म दर्ता हुन सकेका थिएनन् । सरकारले गत वर्ष (२०८० वैशाख १४ गते) विद्यमान यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै स्वदेशमा उत्पादन हुने सवारी साधन दर्ता हुने व्यवस्था गरेको थियो ।

त्यसपछि मात्रै यात्रीको पी १ ले नम्बर प्लेट पाएको थियो । यात्रीले मूल्य अभिवृद्धि कर (भ्याट) बिल, अन्तःशुल्क निकासी फारमका आधारमा मोटरसाइकल दर्ता सुरू गरेको थियो । त्यसअघि भन्सार प्रज्ञापनत्रका आधारमा मात्रै मोटरसाइकल दर्ता हुन्थ्यो ।

संशोधित व्यवस्था अनुसार हाल विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक नपर्ने व्यवस्था गरिएको छ ।

नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानून बमोजिम अन्तः शुल्क सम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्तःशुल्क निकासी फारम समेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।


Back_to_top