काठमाडौं । बीवाइडीको सबैभन्दा सानो साइजको एसयूभी युवान अप मोडलको नाम यूआन प्रो राखेर अन्तर्राष्ट्रिय बजारमा निर्यात सुरु भएको छ । कम्पनीले यूआन प्रो नामबाट ब्राजिलमा नयाँ मोडल लन्च गरेको हो ।
ब्राजिलियन मार्केटमा युवान प्रोको मूल्य ३२ हजार ५३० डलर कायम भएको छ । त्यो भनेको लगभग ४४ लाख नेपाली रुपैयाँ हो । कम्पनीले अल इलेक्ट्रीक मोडलको रुपमा अघिल्लो वर्ष यूआन अप नामबाट चीनमा बिक्री थालेको हो ।
नयाँ मोडल युवान प्रोको लम्बाई ४३१० एमएम, चौडाई १८३० एमएम र उचाई १६७५ एमएम रहेको छ । यसमा २६२० एमएम लामो ह्वील वेस पाउन सकिन्छ ।
युवान प्रोलाई युवा ग्राहकलाई लक्षीत गर्दै बजारमा ल्याइएको बीवाइडीले जनाएको छ । बीवाइडीको ई–प्लेटफर्म ३.० मा आधारित यूआन प्रोलाई निकै स्पोर्टी डिजाइनमा तयार पारेर ल्याएको छ ।

बीवाइडीले युवान प्रोमा ३२ र ४५.१ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएको छ । यसको अधिकतम रेन्ज ४०१ किलोमिटरसम्म रहेको सिएलटीसीले प्रमाणित गरेको छ ।
युवान अप मोडलमा मोटर पनि दुई अप्सनमा उपलब्ध छ । सानोमा ७० किलोवाट र ठूलोमा १३० किलोवाटको इलेक्ट्रीक मोटर पाउन सकिन्छ । यसको टप स्पीड क्षमता भने १६० किलोमिटर प्रतिघण्टा रहने छ ।
ढिलो चाँडो नेपाल आउने युवान प्रो नेपाली उपभोक्ताले पर्खिरहेको मोडल हो । अहिलेसम्म यसको राइट ह्याण्ड ड्राइभ मोडल देखाइएको छैन ।


