अप्रिलिया ब्राण्डमा दुई नयाँ मोटरसाइकल ल्याउने तयारीमा पियाजीयो कम्पनी जुटेको छ । कम्पनीले आगामी फेब्रुअरी ७ देखि १२ तारिकसम्म भारतको दिल्लीमा आयोजना हुने अटो एक्स्पो २०२० मा दुई नयाँ मोटरसाइकल ल्याउने जनाएको हो ।
कम्पनीका सिइओ डिगो जिराफीले दुई नयाँ मोडल आउने जानकारी दिदै भने ‘१५० र २५० सीसी इन्जिन क्षमतामा प्रिमियम मोटरसाइकल ल्याउने हाम्रो तयारी हो । हामी उत्कृष्ट अफरसँगै बजारमा प्रबेश गर्ने छौं ।’
विभिन्न रिपोर्टका अनुसार कम्पनीले ल्याउन लागेको मोटरसाइकलमा २४९ सीसी लिक्विड कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले २६.५ पीएस पावर र २२ एनएम टर्क प्रदान गर्छ ।
१५० सीसी क्षमताको मोटरसाइकलको विषयमा भने अहिलेसम्म कुनै कुरा बाहिर आएको छैन ।
नेपाली बजारमा पनि पियाजियो कम्पनीको अप्रिलिया, भेष्पा लगायतका उत्पादन दुगर्ड समूह अन्तर्गतको विवेक अटोमोवाइलले बिक्री वितरण गर्दै आएको छ । यस्तोमा भारतीय बजारमा बन्ने नयाँ अप्रिलियाको मोटरसाइकल नेपाली बजारमा पनि आउने सहजै अनुमान लगाउन सकिन्छ ।


