काठमाडौं । सडक विभागले उपत्यका भित्रका सडकमा रहेका खाल्डाखुल्डी पुर्न ‘टास्क फोर्स’ नै तयार गरी काम सुरु गरेको छ ।
पछिल्लो समय उपत्यकाका अधिकांश सडकमा रहेका खाल्डाखुल्डी धमाधम पुर्न थालिएको छ । विभागले दिनभर खाल्डा खुल्डीपुर्ने र ओभर–लेयर थप्ने काम गरिरहेको छ भने बेलुकी सडक पेन्टिङ गर्ने काम गरिरहेको छ ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार उपत्यकाका ६० प्रतिशत खाल्डाखुल्डी पुरिसकिएको छ । विभागको क्षेत्राधिकारभित्र पर्ने अधिकांश सडकका खाल्डाखुल्डी पुरिनेक्रममा रहेको उनले जानकारी दिए ।
पर्यटन वर्ष २०२० लाई लक्षित गरी विभागले नेपालभर आफ्नो मातहतमा पर्ने सबै सडकका खाल्टाखुल्टी पुर्ने काम सुरु गरेको हो । विगतमा चिसोका कारण कालोपत्रे नटिक्ने भन्दै पुष लागेपछि सडक कालोपत्रेको काम रोकिने भएता पनि यो पटक निरन्तरता दिइएको छ ।
सडक विभागले माघ १५ भित्र आफ्नो जिम्मेवारी भित्रका सडकमा परेका खाल्डाखुल्डी पुर्ने लक्ष्य राखेको छ । लक्ष्यअनुसार अहिले दैनिक २ सय वर्गमिटर खाल्डाखाल्डी पुर्ने काम भइरहेको शर्माले बताए ।
सडक विभाग अन्तर्गत देशभर १५ हजार किलोमिटर भन्दा बढि सडक रहेका छन् ।


