काठमाडौं । विश्व चर्चित इलेक्ट्रीक सवारीसाधन र व्याट्री निर्माता कम्पनी बिवाइडीको पछिल्लो उत्पादन ‘सङ म्याक्स’ नेपाल आउने भएको छ । बिवाइडीको नेपालको लागि आधिकारीक वितरक साइमेक्स इङ्कले उक्त इलेक्ट्रीक एमपीभी नेपाली ल्याउन लागेको हो ।
‘हामी आगामी मेसम्ममा सङ म्याक्स एमपीभी नेपाल ल्याउने तयारी गरिरहेका छौं । सम्भवत मे पहिलो साताबाट नै ग्राहकले यसलाई नेपालमा किन्न सक्ने छन्’, साइमेक्स इङ्कका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन् ।
उनका अनुसार यो गाडीको नेपालमा करिब ७० लाख रुपैयाँ हाराहारीमा मूल्य पर्ने छ । निकै लग्जरी फिचरका साथ आउन लागेको यो एमपीभीले ग्राहकको मन जित्नेमा कम्पनी ढुक्क रहेको छ ।
बिवाइडीले भारतमा हुने अटो एक्स्पो २०२० मा सहभागिता जनाउने भएको छ । योसँगै कम्पनीले राइट ह्याण्ड ड्राइभ कारको उत्पादन बढाउने संकेत दिएको हो । यसले बिवाइडीका अन्य इलेक्ट्रीक गाडी नेपाल आउन सजिलो हुने साइमेक्सको दाबी छ ।
कम्पनीले ‘सङ म्याक्स’ मा दिइएको १८ इन्चको अलोय ह्वीलको कारण भारतमा पनि चर्चा चुलिएको छ । ६ र ७ सिट क्षमतामा आउने सङ म्याक्स इभीमा दिइएको ६० किलोवाट आवरको लिथियम आयोन, लिक्विड कुल्ड, पोलिमोर व्याट्री सिस्टमले एक पटकको फुल चार्जमा ५०० किलोमिटरसम्म रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ । यसको उच्च गति क्षमता १५० किलोमिटर प्रतिघण्टा रहेको छ ।
यसको अर्को विशेषता भनेको ६० किलोवाटको डिसि फार्स्ट चार्जरले १५ मिनेट चार्जगर्दा १०० किलोमिटर चलाउन सकिने हो । यो मल्टी प्रपोज भ्यानले ० देखि ५० किलोमिटरको स्पीड ४.५ सेकेन्डमा भेट्टाउने कम्पनीको वेभसाइटमा उल्लेख गरिएको छ ।
यसमा दिइएको सिंगल इलेक्ट्रीक मोटरले १६० बीएच पावर र ४५० एएम टर्क प्रदान गर्नेछ ।
२०१९ मा सार्वजनिक भएको यो एमपीभी निकै लग्जरी रहेको छ । यसको लम्बाई ४६८० एमएम, चौडाई १८१० एमएम र उचाई १६९० एमएम रहेको छ ।
यसमा १२.८ इन्चको फ्लोटिङ स्कृन दिइएको छ । यसको ड्यास बोर्ड सफ्टटच मेटेरियलले बनाएको छ । यसमा ८ एयरव्यागको प्रयोग गरिएको छ भने उत्कृष्ट पानारोमिक सनरुफ उपलब्ध रहेको छ ।
अहिले नेपाली बजारमा बिवाइडीले दुई मोडल बिक्री वितरण गर्दै आएको छ । जसमा इ-६ र एम-३ रहेको छ ।


