काठमाडौं । सुजुकी मोटरसाइकलले आफ्नो चर्चित मोडल भि स्ट्रोमलाई २५० सीसी क्षमतामा उत्पादन गर्ने भएको छ । अगामी फेब्रुअरी ६ देखि सुरु हुने अटो एक्स्पो २०२० मा जापानी मोटरसाइकल निर्माता कम्पनीले उक्त मोटरसाइकल प्रदर्शन गर्ने भएको हो ।
यो मोटरसाइकल कम्पनीले भारतीय बजारमा यही बर्षदेखि बिक्री गर्ने अनुमान गरिएको छ । एडभेन्चर टुरर मोटरसाइकल निर्माण गर्ने ट्रेण्ड सुरु भएको समयमा सुजुकीले पनि २५० सीसी एडभेन्चर मोटरसाइकल ल्याउन लागेको हो ।
केही समय अगाडि यामाहा, केटीए, बजाज जस्ता ब्राण्डले २५० सीसी सेग्मेन्टमा एडभेन्चर मोटरसाइकल निर्माण गर्ने घोषण गरेका थिए । हिरो एक्सपल्स २०० को सफलताले लोभिएका कम्पनीहरुले एडभेन्चर मोटरसाइकल ल्याउन लागेका हुन् ।
साथै, कम्पनीले ल्याउने कम सीसीको भि स्ट्रोमको मूल्य २ लाख ३० हजार भारतीय रुपैयाँमा तोक्ने अनुमान गरिएको छ ।
सुजुकी भि स्ट्रोम सिरिज ग्लोवल मार्केटमा लोकप्रिय एडभेन्चर मोटरसाइकल हो । नेपालमा पनि भिआईपी सवारीमा प्रयोग गर्न भन्दै नेपाल प्रहरीले भि स्ट्रोम ६५० खरिद गरेको थियो ।
भि स्ट्रोम २५० एडभेन्चर भि स्ट्रोम ६५० बाट सिधा प्रभावित रहेको छ । यसमा २४८ सीसी लिक्विड कुल्ड, फोर स्ट्रोक, प्यारलल ट्वीन इन्जिन रहेको छ । यो इन्जिनले २५ पीएस पिक पावर तथा २३.४ एनएक पिक टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
कम क्षमताको भि स्ट्रोममा १७ इन्च अलोय ह्वील, राउन्ड हेडल्याम्प, डबल डिस्क, एबीएस, फ्रन्ट विन्डसिल्ड, डिजिटल कन्सोल जस्ता फिचर दिइएको छ ।


