काठमाडौं । गएको माघमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन फारम प्रणाली ह्याक भएको थियो । उक्त समस्याको समाधानका रुपमा यातायात व्यवस्था विभागले ‘ओटिपी कोड’को व्यवस्था गर्ने भएको हाे ।
ओटिपी कोडको व्यवस्थाले ह्याकको समस्या फेरी नदोहोरिने विभागले जनाएको छ । यस व्यवस्था अनुसार लाइसेन्सको अनलाइन फारम भर्दा ‘सिस्टम’ले स्वचालित रुपमा मोवाइलमा ओटिपी कोड पठाउने छ । त्यो कोड राखेपछि बल्ल फारम प्रकृया पुरा हुने छ ।
नेपालको साक्षरता दर कम हुँदा ओटिपी कोड लागू भएपछि केही झन्झटिलो हुने देखिए पनि ह्याकरहरुले आफुखुसी फारम भर्न भने पाउने छैनन् ।
विभागका आइटी निर्देशक श्रीचन्द्र शाहले हाल यस विषयमा सिस्टम परिर्वतनको काम भइरहेको बताए । उनले यो परिवर्तित प्रणाली चाँडै सञ्चालनमा ल्याइने बताए ।
‘हमीले ‘वान टाईम पासवर्ड कन्ट्रोल’ का लागि यो व्यवस्था ल्याउन लागेका हौं, एसएमएस मार्फत कोड आएपछि मात्र फारम पुरा हुनेछ,’ शाहले भने ।
उनले पहिल्यै जानकी टेक्नोलोजीसँग म्यासेजको सम्झौँता भएको र हाल म्यासेज संख्या बढाएर मात्रै यो सिस्टम लागु गरिने बताए ।
यसमा सेवाग्राहीको खर्च नहुने भएतापनि विभागका लागि एसएमएसको खर्च थपिने उनले जानकारी दिए ।

