नेपाल आउँदै २ नयाँ ह्याचव्याक कार, कुनमा कस्ता फिचर

काठमाडौं । जर्मन कार उत्पादक कम्पनी फक्सवागन र कोरियन अटो जाइन्ट हुन्डाईले नयाँ ह्याचव्याक कार नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेका छन् । फक्सवागनले आफ्नो चर्चित ह्याचव्याक पोलो टिएसआई इन्जिनमा ल्याउने छ भने हुन्डाईको नयाँ मोडल ग्राण्ड आई १० नियोस नेपाल आउने छ ।

यी दुबै कार आगामी दशैं अगाडि नै नेपालमा बिक्री सुरु हुनेगरि आउन लागेका हुन् । विश्वमै सर्वाधिक कार बनाउने मध्यको एक कम्पनी फक्सवागनको भारतमा उत्पादन भएको नयाँ पोलो र कोरियन निर्माताले भारतमा नै उत्पादन गरेको नियोस बीच कडा टक्कर हुने अनुमान गरिएको छ ।

इन्जिन

गाडीको सबैभन्दा महत्वपूर्ण पाट्सको रुपमा इन्जिन रहने गर्छ । इन्जिनको पर्फमेन्सले गाडीको पावर माइलेज जस्ता विषयमा छिनोफानो हुने गर्छ । फक्सवागन पोलोमा १.० लिटर टिएसआई टर्बो चार्ज्ड इन्जिन रहेको छ । यसमा अन्य इन्जिनको अप्सन उपलब्ध छैन । यसमा रहेको टर्बो इन्जिनले १०८ बीएच पावर प्रदान गर्छ ।

तर, हुन्डाई ग्रान्ड आई १० नियोसमा १.२ लिटर कप्पा पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.२ लिटर सिआरडीआई डिजेल इन्जिन उपलब्ध रहेको छ । १.२ लिटर पेट्रोल इन्जिनले ८२ बीएच पावर प्रदान गर्छ भने डिजेल इन्जिनले ७२ बीएच पावर प्रदान गर्छ । यसमा रहेको टर्बो पेट्रोल इन्जिनले ९८.६३ बीएच पावर प्रदान गर्ने छ । यी दुबै कार बीएस-६ मापदण्डको इन्जिनमा आउने छन् ।

साइज

यी दुई कारमा पोलो लामो छ भने, नियोस अग्लो छ । चौडाई दुबै कारको उस्तै रहेको छ । पोलोको लम्बाई ३९७१ एमएम, चौडाई १६८२ एमएम र उचाई १४६९ एमएम रहेको छ । नियोसको लम्बाई ३८०५ एमएम, चौडाई १६८० एमएम र उचाई १५२० एमएम रहेको छ ।

ह्वीलबेस दुबै कारको लगभग उस्तै रहेको छ । पोलोको ह्वीलबेस २४६९ एमएम र नियोसको २४५० एमएम रहेको छ । दुबै कारमा समान १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । दुबै कारमा ५ जनाले यात्रा गर्न सक्ने छन् ।

सुरक्षा फिचर

यी दुबै कारमा अगाडि चक्कामा डिस्क ब्रेक र पछाडि चक्कामा ड्रम ब्रेक रहेको छ । दुई एयरव्याग, एबीएस, इन्जिन इमोविलाइजर, सेन्ट्रल लक, चाइल्ड सेफ्टी लक, पावर डोर लक, सिटबेल्ट रिमाइन्डर जस्ता फिचर समान रहेका छन् ।

आरामदायी

गाडीमा यात्रा गर्दा आरामदायी गाडी सबैको छनोट हुने गर्छ । नियोसमा अटोमेटिक एयर कन्डिसनर रहेको छ भने पोलोमा अटोमेटिक क्लाइमेट कन्ट्रोल रहेको छ ।

दुबैमा हिटर, टिल्ट स्टेरिङ, क्रुज कन्ट्रोल, पावर आउटलेट, रियर पार्किङ क्यामेरा, इलेक्ट्रीकल्ली एड्जस्टेवल रियर भ्यू मिरर, कि–लेस इन्ट्री, कुलिङ ग्लोवबक्स पाउन सकिन्छ ।

यसको अलावा नियोसमा रियर एसी भेन्ट, रुफरेल, रियर पार्किङ सेन्सर जस्ता फिचर रहेका छन् । पोलोमा फ्रन्ट आर्मरेष्ट, डिजिटल क्लक, डस्ट फिल्टर, वान टच पावर विन्डो जस्ता सुविधा रहेका छन् ।

नेपालमा ब्राण्डको उपस्थिति

नेपालमा हुन्डाईका गाडी निकै बाक्लो उपस्थिति रहेको छ । कार सेग्मेन्टमा मार्केट लिडरको स्थान बनाएको हुन्डाईले भारतमा बनाएको हरेक गाडीले नेपाली बजारमा सफलताको स्वाद चाख्न पाएका छन् । फक्सवागन नेपाल आएको १० वर्ष पुरा भएको छ । यस्तोमा कम्पनीले सर्वाधिक बिक्री गरेको मोडलपनि पोलो नै हो ।

नेपालमा पोलो निकै सफल मध्येको एउटा मोडलमा पर्छ । यस्तोमा मार्केट लिडरले ल्याउन लागेको बीएस-६ नियोस र बीएस-६ पोलो टिएसआईको प्रतिस्पर्धा हेर्न लायक हुने अनुमान गरिएको छ ।


Back_to_top