काठमाडौं । हुन्डाई ग्राण्ड आई १० नेपालको कार बजारमा सफल नाम हो । ह्याचव्याक कार खोज्नेको लागि निकै परिचित ग्राण्ड आई १० को नियोस मोडल नेपालमा बिक्री सुरु भएको छ । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले बिक्री सुरु गरेको ग्राण्ड आई १० नियोस म्याग्ना र स्पोर्टज् भेरियन्टमा नेपाल आएको छ ।
कम्पनीले नयाँ ल्याएको ग्राण्ड आई १० नियोस र पहिलेदेखि बिक्री गर्दै आएको ग्राण्ड आई १० मा के के फरक रहेका छन् भन्ने जिज्ञासा धेरैमा हुन सक्छ । यस्तोमा हामीले यसमा रहेका फरक केलाउने प्रयास गरेका छौं ।
डिजाइन
डिजाइनको कुरा गर्दा एक्स्टेरियरबाट सुरु गरौं । गाण्ड आई १० नियोस रेगुलर मोडलको तुलनामा केही ठूलो छ । यसको लम्बाई ४० एमएम, चौडाई २० एमएम र ह्वीलवेस २५ एमएमले ठूलो रहेको छ । उचाई भने दुबै मोडलको समान रहेको छ ।
झट्ट हेर्दा नियमित ग्राण्ड आई १० को तुलनामा नियोसको आधुनिक डिजाइनले प्रभाव पर्छ । यूरोपियन डिजाइनबाट प्रेरित नियोसमा ठूलो र फराकिलो ग्रिल दिइएको छ । बुम्रिङ सेप्डमा दिइएको एलइडी डेटाइम रनिङ लाइटले कारलाई आकर्षक बनाएको छ ।

हुन्डाईले नियोसमा प्रोजेक्टर हेडल्याम्प र फगल्याम्प दिएको छ । नयाँ टेल लाइट र पछाडिको बम्पर तथा १६ इन्चको डायमन्ड कट अलोय ह्वीलले नियोस साँच्चै ग्राण्ड आई १० को तुलनामा नियाेस आकर्षक रहेको छ ।
दुबै कारको तुलनात्मक भिन्नता थाहापाउन यहाँ क्लिक गर्नुहोस् ।
क्याविन
नियोसमा कम्पनीले ड्यूल टोन कलरमा इन्टेरियर सजाएको छ । ग्लोबबक्स र डोर ह्यान्डलमा फरक कलर प्रयोग भएको छ । ग्राण्ड आई १० मा कालो कलरको प्रयोग गरिएको थियो भने नियोसमा ग्रे कलर प्रयोग गरिएको छ । नयाँ कलरले कारलाई बढी उज्यालो देखाएको छ ।
यसका अलावा नियोसमा नयाँ डिजाइनको स्टेरिङ ह्वील, अपडेट गरिएको क्लाइमेट कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ ।
अन्य फिचर
ग्राण्ड आई १० मा ६.९ इन्चको इफोटेन्टमेन्ट सिस्टम दिइएको छ । यसले एन्ड्रोइड अटो, एप्पल कार प्ले, व्ल्यू टुथ कनेक्टीभीटी र मिरर लिंक सपोर्ट गर्छ । साथै यसमा अटोमेटिक एसी, हाइट एड्जस्ट ड्राइभर सिट, पुस बटम स्टार्ट/स्टप, पार्किङ सेन्सर र पार्किङ क्यामेरा रहेको छ ।

नियोस मोडलमा भने ७.९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५.२ इन्चको इन्ट्रुमेन्ट कन्सोल, प्रिमियम साउन्ड सिस्टम जस्ता फिचर उपलब्ध रहेको छ ।
इन्जिन
दुबै कारमा एउटै इन्जिन उपलब्ध रहेको छ । यसमा हुन्डाईको चर्चित १.२ लिटर, फोर सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ८२ बीएच पावर र ११४ एनएम टर्क प्रदान गर्छ ।
दुबै मोडलमा समान ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । तर, अटोमेटिक गियरबक्समा भो केही परिवर्तन पाउन सकिन्छ । ग्राण्ड आई १० मा ४ स्पीड अटोमेटिक गियरबक्स रहेको छ भने नियोसमा ५ स्पीड अटोमेटिक गियरबक्स उपलब्ध छ ।
मूल्य
यी दुबै कारको मूल्यमा पनि खासै फरक छैन । ग्राण्ड आई १० अहिलेपनि २०१९ मोडलमा उपलब्ध रहेको छ । २०१९ मा बनेका ग्राण्ड आई १० मग्नाको मूल्य २९ लाख ५६ हजार रहेको छ भने २०२० मोडल मग्नाको ३० लाख ५६ हजार रहेको छ ।
त्यस्तै २०१९ स्पोर्टज् भेरियन्टको मूल्य ३२ लाख ९६ हजार रुपैयाँ रहेको छ भने २०२० मोडलको मूल्य ३२ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
हिजोबाट बिक्री सुरु भएको नियोसको मग्ना भेरियन्टको मूल्य ३० लाख ९६ हजार र मग्ना अटोमेटिक र स्पोर्टज् भेरियन्टको मूल्य समान ३३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
निष्कर्ष
नियमित बिक्री हुँदै आएको ग्राण्ड आई १० को तुलनामा थोरै बढी मूल्यमा ठूलो साइज, लेटेष्ट फिचर, नयाँ कलर अप्सन जस्ता कारण ग्राण्ड आई १० नियोस उत्कृष्ट ह्याचव्याक हुन सक्छ । थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।


