नेपालमा सफलताको स्वाद चाख्दै पेट्रोल ब्रेजा, मूल्य र फिचरले ग्राहक तान्दै

काठमाडौं । मारुती सुजुकी ब्रेजाको नयाँ पेट्रोल इन्जिन अहिले निकै सफल बन्दै गएको छ । लकडाउन सकिएसँगै नेपाल आएको पेट्रोल ब्रेजा दशैंमा राम्रो बिक्री भएको छ ।

नेपाली बजारमा यसअघि डिजेल इन्जिन मात्रै बिक्री हुँदै आएको ब्रेजा उपत्यकामा भन्दा उपत्यका बाहिर राम्रो बिक्री भएको थियो । पेट्रोल इन्जिनमा आएसँगै यसको सहरी क्षेत्रमा बिक्री बढ्दै गएको छ ।

सब फोर मिटर सेग्मेन्टमा बजारमा उपलब्ध ब्रेजाको प्रतिस्पर्धा भेन्यू, इकोस्पोर्ट, एक्सयूभी ३००, नेक्सन जस्ता मोडलसँग हुँदै आएको छ । नयाँ पेट्रोल इन्जिन १५०० सीसी क्षमताको रहेको छ ।

नयाँ ब्रेजामा १.५ लिटर के१५बी एसएचभीएस फोर सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले १०५ पीएस पावर र १३८ एनएम टर्क प्रदान गर्नेछ । ५ स्पीड म्यानुयल र ४ स्पीड टर्क कन्भटर अटोमेटिक गियरबक्स दिइएको छ ।

कम्पनीले यसमा स्मार्ट हाइब्रिड टेक्नोलोजीको प्रयोग गरिएको छ । उक्त टेक्नोलोजीले इन्धन बचत, आइडियल स्टार्ट/स्टप, टर्क एसिस्ट फङ्सन, ब्रेक इनर्जी रिजेनेरेशन जस्ता फिचर उपलब्ध रहेको छ ।

मारुती सुजुकीको पेट्रोल इन्जिन युक्त ब्रेजा भिएक्सआई भेरियन्टको मूल्य ४१ लाख ६९ हजार र जेडएक्सआई भेरियन्टको मूल्य ४४ लाख ६९ हजार रुपैयाँ निर्धारण भएको छ ।

सुरक्षाको हिसावले ग्लोवल एनक्यापमा ४ स्टार रेटिङ प्राप्त गर्न सफल ब्रेजामा एयरव्याग, एबीएस, इबीडी, सिटबेल्ड रिमाइन्डर, आइएसओ फिक्स चाइल्ड सिट, स्पीड सेन्सर डोर लक अनलक जस्ता फिचर उपलब्ध रहेका छन् ।


Back_to_top