कारमा थपिँदै ७ नयाँ टेक्नोलोजी, जसले चालकलाई स्मार्ट बनाउँछ

काठमाडौं । कार मानिसको जीवनलाई चलाएमान बनाइराख्ने उत्कृष्ट आविष्कार हो । आजकाल कामकाजी मानिसहरुको जीवनको धेरै समय कारमा वित्ने गरेको छ । व्यस्त मानिसको लागि घरपछिको सबैभन्दा बढि समय कारमा वित्ने गर्छ ।

कारलाई अब इन्जिन, पावर तथा स्पीडसँग मात्र तुलना गरिने समय गइसकेको छ । आजको आधुनिक समयमा कारलाई चालक र यात्रीको जीवन सहज बनाउने प्रविधिहरुको व्यापक विकास र प्रयोग हुन थालेको छ । जुन कारमा धेरै प्रविधिको प्रयोग हुन्छ, त्यसता कार उत्कृष्ट रहेको मापन हुन थालेको छ ।

आधुनिक प्रविधिहरुले कारको सेफ्टी, सेक्युरीटी, कलेक्टीभीटी र कम्युनीकेसन सहितको फिचर प्याक बनाएको छ । अबको आधुनिक कारमा हुने नयाँ अटोमोटिभ टेक्नलोजीलाई हामीले यहाँ चर्चा गरेका छौ ।

१. एड्भान्स ड्राइभर असिस्ट सिस्टम

अबका धेरै कारहरुमा आधुनिक ड्राइभर असिस्ट सिस्टमको प्रयोग हुनेछ । जसको सहायताले अफ्ठ्यारो समयमा ‘क्विक रियाक्ट’ गरेर ट्राफिकमा ड्राइभरलाई गाडी चलाउन सहज बनाउनेछ ।

त्यसका लागि फोर्डले कोपाइलट ३६०, सुवरुले आईसाइट र टोयोटाले सेफ्टी सेन्स नामबाट सिस्टम विकास गरेका छन् । यसको सहायताले एडप्टीभ क्रुज कन्ट्रोल, लेन डिपाचर वार्निङ, लेनकिप असिस्ट, व्लाइण्ड स्पट अलर्ट, क्रस ट्राफिक अलर्ट, रिभर्स ब्रेक असिस्ट जस्ता कार्यहरु गर्नेछ ।

२. अटोमेटिक इमर्जेन्सी ब्रेकिङ

जब कारले दुर्घटना हुने सम्भावना देख्छ, उक्त समयमा यो सिस्टमले आफै ब्रेक लगाएर दुर्घटना हुन बाट जोगाउने छ । यो सिस्टमले मानिसको दिमाखले महसुस गरेर कार्य गर्ने भन्दा कयौँ गुणा छिटो कार्य गर्छ । अझ चालकले ब्रेक लगाएको अबस्थामा छिटै रोक्नु परेको खण्डमा यो प्रविधिले चालकले ब्रेक दवाएको भन्दा झन हार्ड ब्रेक लागाउने कार्य गर्छ । यो प्रविधि आगामी दिनहरुमा कारमा नभै नहुने स्टार्डड फिचरको रुपमा विकास हुनेछ ।

३. कनेक्टेड मोवाइल एप/डिजीटल कि

अब कारमा मोवाइल कनेक्ट गरेर फोनमा कुराकानी गर्ने विषय सामान्य भइसकेको छ । स्मार्टफोनको विकास र विस्तारसँगै कारका टेक्नलोजीमा मोवाइल फोन एक अभिन्न अंग हुनेमा दुईमत छैन । अबको कारहरुमा मोवाइलमा रहेको एपबाटै टाढैबाट कारमा विभिन्न कार्य गर्न सकिने हुनेछ । कारमा आफु बस्नु अगाडि नै क्लाइमेट कन्टोल चलाएर वातानुकुलित बनाउने, टाढैबाट कार लक अनलक गर्ने, कारमा रहेको इन्धनको अवस्था बुझने आदि कार्य मोवाइबाटै हुनेछ । अबको कारलाई चावी रहित डिजिटल किको रुपमा पनि मोवाइल टेक्नलोजीको व्यापक प्रयोग हुनेछ ।

४. टिन ड्राइभ टेक्नलोजी

घरमा कार भएपछि सबै उमेर समुहका मानिसले चलाउने गर्छन् । साधारणतया घरका टिनएजर युवाहरुले कार चलाउँदा धेरै स्पीडमा, ठूलो साउन्ड बनाएर तथा रफ तरिकाले चलाउने गरेको पाइन्छ । यस्तो खाले समस्याबाट छुटकारा पाउने अबका कारहरुमा टिन ड्राइभ टेक्नलोजीको प्रयोग हुनेछ, जसको सहायताले अभिभावकहरले आफ्नो युवा छोराछोरीलाई कार चलाउन दिँदा पहिला नै स्पीड, एरिया, भोलुम लिमिट आदि सेट गरेर राख्न सक्ने छन् ।

कनेक्टेड टेक्नलोजीले कार कहाँ कति स्पीडमा गुडिरहेको छ भन्ने जानकारीहरु अभिभावकले टाढैबाट मोवाइलमा हेर्ने सक्ने छन् ।

५. एक्जीट वार्निङ्ग

कार रोकेर अचानक ढोका खोल्दा साइडबाट आउने साइकल तथा पैदल यात्रुहरु ठोकिने गरेको पाइन्छ । अबका कारहरुमा चालकलाई ढोका खोल्दा कोहि नजिक छ भने एक्जीट वार्निङ्ग टेक्नलोजीले पहिलानै सजक गराउने छ ।

कारमा रहेको सेन्सरहरुले साइडबाट अचानक आइरहेको साइकल, पैदलयात्री वा अन्य गाडीहरुको जानकारी दिइ ढोका आफै लक गर्ने छ । यो सिस्टम गाडीको स्टार्ट बन्द गरिसकेपछि पनि काम गर्ने गरेर डिजाइन गरिएको छ ।

६. ३६० डिग्री क्यामरा

अहिले पनि कतिपय महंगा हारहरुमा यो प्रविधिको प्रयोग भइसकेको छ । आगामी दिनहरुमा यो प्रविधि एक स्टाण्डर्ड फिचरको रुपमा सबै कारहरुमा प्रयोग हुने छ । यो प्रविधिको सहायताले असाध्यै साँघुरो बाटाहरुमा पनि सजिलै कार चलाउन सकिनेछ । अझ पार्किङ्गगर्दा समेत उत्कृष्ट तरिकाले एकदमै कम ग्याप राखेर पार्क गर्न सकिनेछ ।

७. भिडियो रिभ्यू मिरर

कार चलाउदा सिधा पछाडिबाट के आइरहेको छ भनेर कारमा रहेको आईआरभीएममा हेर्ने गरिन्छ । तर, कहिलेकाहिँ कारमा पछाडि धेरै सामान राखिएको अवस्थामा वा चिसो मौसममा कारको पछाडिको सिसामा वाफ जमेर पछाडिको दृष्य देखिदैन । यो समस्याबाट छुटकारा पाउनका लागि अब कारको आईआरभीएम पछाडिको क्यामरासँग कनेक्टेड हुने छ, जसमा निरन्तर कारको पछाडिको दृष्य प्रसारण हुने छ । जसको सहायताले आफू पछाडि के आइरहेको हो चालकले त्यसको सजिलै जानकार पाउनेछ ।


Back_to_top