होन्डाको कम मूल्यको एड्भेन्चर मोटरसाइकल NX200, भारतमै उत्पादन हुने

सन् २०१६ मा देखाएको सिएक्स-०२ को कन्सेप्ट

काठमाडौं । होन्डाले भारतमा पहिलो पटक नयाँ प्ल्याटर्फममा एड्भेन्चर मोटरसाइकल उत्पादन गर्ने भएको छ । कम्पनीले होन्डा हर्नेट २.० मा आधारित ‘एनएक्स २००’ नयाँ एड्भेन्चर मोटरसाइकल बजारमा ल्याउन लागेको हो ।

कम्पनीले ‘एनएक्स २००’ नामबाट ट्रेडमार्क दर्ता गरेसँगै चाँडै बजारमा आउने अनुमान गरिएको हो । यसअघि होन्डाले ट्रेडमार्क दर्ता गरेको एक दुई महिना भित्रै मोटरसाइकल बजारमा उतार्ने गरेको थियो । यसैलाई आधार मान्दा ‘एनएक्स २००’ पनि चाँडै बजारमा आउने अनुमान गर्न सकिन्छ ।

होन्डाले भारतमा अघिल्लो वर्ष २.० प्ल्याटफर्म सार्वजनिक गरेको थियो । उक्त प्ल्याटफर्ममा कम्पनीले पहिलो मोटरसाइकल हर्नेट २.० बजारमा ल्याएको हो । एड्भेन्चर टुरर मोटरसाइकलको बढ्दो मागलाई सम्बोधन गर्न कम्पनीले ‘एनएक्स २००’ बजारमा ल्याउन लागेको अनुमान गर्न सकिन्छ ।

कम्पनीले यसमा हर्नेट २.० को तुलनामा फरक चेसिस प्रदान गर्ने छ भने दुबैतिर १७ इन्चको ह्वील, अफरोड टायर, अग्लो विन्डस्कृन र नकल गार्डको प्रयोग गर्ने अनुमान गरिएको छ ।

कम्पनीले यसमा हर्नेट २.० मा प्रयोग भएको समान १८४.४ सीसी क्षमताको एयरकुल्ड, सिंगल सिलिण्डर इन्जिन प्रदान गर्ने अनुमान गरिएको छ । उक्त इन्जिनले १७.२७ पीएस पावर र १६.१ एनएम टर्क प्रदान गर्नेछ । यसको सिधा प्रतिस्पर्धा हिरो एक्सपल्स २०० सँग हुने अनुमान गरिएको छ ।


Back_to_top