होन्डाले सन् २०४० बाट पेट्रोल र डिजेलबाट चल्ने गाडी नबनाउने

काठमाडौं । जापनीज अटो कम्पनी होन्डा मोटर्सले सन् २०४० बाट ग्यासोलीन कार बेच्न बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले अबको १८ वर्षपछि ग्यासोलीन मात्र नभई हाइब्रीड कारको पनि उत्पादन बन्द गर्ने भएको हो ।

होन्डाले क्रमिकरुपमा आफ्नो विक्री हिस्सामा इलेक्ट्रीक र फिउल सेल कारको हिस्सा बढाउँदै जाने जनाएको छ । कम्पनीले सन् २०३० सम्ममा आफ्नो प्रमुख बजार जापान, अमेरिका, युरोप तथा चाइनामा कुल बिक्री मध्ये ४० प्रतिशत इभी तथा फिउल सेल कारको विक्री पूर्याउने लक्ष्य बनाएको हो ।

त्यस्तै सन् २०३५ सम्ममा यस्ता कारहरुको बिक्री ८० प्रतिशत पुर्याउने र सन् २०४० बाट ग्यासोलिन इन्जिन उत्पादन नै बन्द गर्ने भएको हो । होन्डाले अहिले एउटा मात्र ‘होन्डा इ–कम्प्याक’ मोडलको विद्युतीय कार विक्री गरिरहेको छ ।

कम्पनीले सन् २०२४ सम्ममा इलेक्ट्रीक मिनी भ्यान लन्च गर्ने जनाएको छ । साथै, अमेरिकामा जनरल मोटर्ससँगको साझेदारीमा इलेक्ट्रीक कार बनाउने र चीनमा आगामी ५ वर्ष भित्र १० वटा नयाँ इभी मोडलहरु लन्च गर्ने योजना बनाएको छ ।

कम्पनीले इभीको आरएण्डडीका लागि आगामी ६ वर्षभित्र ४६ बिलीयन डलर लगानी गर्ने छ । जापान सरकारले सन् २०३५ बाट ग्यासोलीन कारको विक्री बन्द गर्ने योजना सार्वजनिक गरेको थियो । सरकारी निर्णय अनुसार होन्डाले योजना बनाएको हो ।

जापनीज सरकारको निर्णयसँगै टोयोटा मोटरले सन् २०२५ सम्ममा १५ वटा इभी मोडल लन्च गर्ने जनाएको छ भने, अर्को मोटर कम्पनी निसानले पनि आफ्ना सबै उत्पादनहरु सन् २०३० सम्ममा इभी भर्सनमा उपलब्ध हुने जनाइसकेको छ ।


Back_to_top