नोभेम्बरमा सार्वजनिक हुँदै नयाँ जेनेरेशन बजाज पल्सर, दुई डिजाइनमा आउने

काठमाडौं । बजाजले आफ्नो सर्वाधिक सफल सिरिज पल्सरको नयाँ जेनेरेशन मोडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्नो नयाँ जेनेरेशन मोडलमा पहिलो मोटरसाइकल पल्सर २५० नोभेम्वरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

बजाज अटोका मेनेजिङ डाइरेक्टर राजिव बजाजले हालै मिडियालाई दिएको एक अन्तर्वार्तामा उक्त कुराको खुलासा गरेका हुन् ।

राजिव बजाजका अनुसार पल्सर सिरिज २० वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले पल्सर सिरिजमा सबैभन्दा पावरफुल मोटरसाइकल सार्वजनिक गर्ने भएको हो । उनका अनुसार बजाज पल्सर २५० मोटरसाइकल नयाँ प्लेटर्फममा निर्माण भएको छ ।

यसअघि धेरै पटक नयाँ मोटरसाइकल परिक्षणको क्रममा देखिएको थियो । कम्पनीले हालै सार्वजनिक गरेको एक रिपोर्टका अनुसार २५० सीसीमा नेकेड स्पोर्टस् र रेसिङ स्पोर्टस मोडलमा नयाँ जेनेरेशन पल्सर सार्वजनिक हुनेछ । यी मोटरसाइकलमा इन्जिन भने केटीम ड्यूक २५० बाट लिइने छ ।

बजाज पल्सर आरएस २५० फुल फियर्ड मोटरसाइकलले सुजुकी जिक्सर एसएफ २५० सँग प्रतिस्पर्धा गर्छ भने, एनएस २५० ले यामाहा एफजेड २५ र जिक्सर २५० सँग प्रतिस्पर्धा गर्छ ।

यी मोटरसाइकलमा नयाँ फिचर स्वरुप एलइडी हेडलाइट, अल डिजिटल इन्स्टुमेन्ट कन्सोल, कलर डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी जस्ता फिचर रहने छ । नयाँ मोटरसाइकलमा २४८ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड, एफआई इन्जिन हुनेछ । यो इन्जिनले २९ बीएच पावर तथा २४ एनएम टर्क जेनेरेट गर्छ ।

यी दुबै मोटरसाइकल बजाज डोमिनार २५० भन्दा कम मूल्यमा सार्वजनिक हुने रिपोर्टमा उल्लेख गरिएको छ ।


Back_to_top