३० लाखभन्दा कम मूल्यमा नेपाल आउने ५ इलेक्ट्रीक कार

काठमाडौं । हरेक हप्ता पेट्रोलीयम पदार्थको मूल्य बढी रहेको छ । इन्धनको आकाशिदो मूल्य वृद्धिसँगै क्लीन इनर्जीबाट चल्ने बिधुतीय गाडीको चर्चा चुलिएको छ । नेपालको सन्दर्भमा हाइड्रो पावरबाट प्रयाप्त विजुली उत्पादन हुन थालेको छ ।

नेपालले पहिलो पटक भारतीय बजारमा विद्युत विक्री सुरु गरेको अवस्थामा सरकारले पनि विजुलीको आन्तरिक खपत बढाउन विभिन्न प्रयास सुरु गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत विद्युतीय सवारी साधनमा भन्सार र अन्तःशुल्कमा कटौती गरेको थियो । अझै भन्सार घटाउने विषयमा पुनः छलफल सुरु भएको थियो ।

विद्युतीय गाडी नेपालको लागि फाइदाजन भएपनि पूर्वाधारको कमी र सप्लाईमा समस्या रहेकाले तत्काल किन्न चाहनेले ३/४ महिनासम्म कुर्नु पर्ने अवस्था छ । अहिले नेपालमा एमजी इजेडएस, टाटा नेक्सन इभी, हुन्डाई कोना र आयोनिक, किया निरो, बीवाइटी इ६, एमथ्री र टीथ्री तथा दिगो र डेरी ब्राण्डका इलेक्ट्रीक गाडी विक्री भइरहेका छन् ।

अहिले विक्री भइरहेका गाडी १९ लाखदेखि ७१ लाखसम्म मूल्य कायम भएका छन् । यस्तोमा केही नयाँ मोडल ३० लाखभन्दा कम मूल्यमा विक्री हुनेगरी आउने सम्भावना रहेको छ ।

महिन्द्रा इकेयूभी १००ः महिन्द्राले सन् २०२० को दिल्ली अटो शोमा पहिलो पटक देखाएको इलेक्ट्रीक केयूभी १०० सन् २०२२ को अप्रिलसम्ममा नेपाल आउने जनाइएको छ । इकेयूभी १०० माइक्रो एसयूभी डिजाइनमा उत्पादन भएको मोडल हो । महिन्द्राले यसमा १५.९ किलोवाट आवरको लिथियम आयोन व्याट्री रहने छ ।

कम्पनीले यसमा ४० किलोवाट क्षमताको मोटर दिएको छ । महिन्द्राको इकेयूभी १०० लाई फास्ट चार्जरबाट चार्ज गर्दा ५५ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । कम्पनीले यो गाडीले एकपटकको फुलचार्जमा १५० किलोमिटरको रेञ्ज प्रदान गर्ने जनाएको छ ।

टाटा टिगोर: टाटाले आफ्नो कम्प्याक सेडान कार टिगोर भारतमा विक्री सुरु गरिसकेको छ भने ह्याचव्याक टियागो पनि चाँडै बजारमा ल्याउने अनुमान गरिएको छ । टाटाले अहिले उत्पादन गरिरहेको सबै मोडललाई इलेक्ट्रीकमा ल्याउने जनाएको छ । टाटा टिगोर सेडानले एक पटकको फुल चार्जमा ३०६ किलोमिटर रेञ्ज दिने बताइएको छ ।

मारुती सुजुकी वागेनआर: भारतीय बजार विगत २ दशकदेखि उल्लेखिय मात्रामा विक्री भइरहेको वागेनआर मारुती सजुकीले लन्च गर्ने पहिलो इभी हुने भएको छ । मारुतीले भारतको बिभिन्न स्थानमा यसको परिक्षण गरिरहेको तस्वीरहरु सार्वजनिक भएका छन् ।

कम्पनीले यो कारमा ३० किलोवाट आवरको व्याट्री दिने अनुमान गरिएको छ जसले एक पटकको फुल चार्जमा २५० किलोमिटर भन्दा बढी रेञ्ज प्रदान गर्नेछ ।

जीडब्लुएम ओरा आर १: ग्रेटवाल मोटर्सले बजारमा ल्याएको सानो ह्याचव्याक कार नेपाल आउने भएको छ । जनवरी २०२२ मा नेपाल ल्याउने जनाइएको आर १ मा ३३ किलोवाट आवरको लिथिएम पोलीमर व्याट्री रहेको थियो । एक पटकको फुल चार्जमा ३०० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ । यो कारमा ३५ किलोवाटको मोटर रहेको छ ।

रेनो केजेडइ: रेनोको सफल ह्याचव्याक कार क्वीडको इलेक्ट्रीक भर्सन केजेडइ नामबाट चीनमा विक्री हुँदै आएको छ । आगामी वर्षबाट नेपालमा पनि विक्री सुरु हुने अनुमान गरिएको यो कारमा २६.८ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । फुल चार्जमा ३५० किलोमिटरसम्मको रेञ्ज दिने केजेडइमा २८.६ किलोवाटको मोटर दिइएको छ ।


Back_to_top