काठमाडौं । विश्व प्रसिद्ध लग्जरी कार ब्राण्ड बीएमडब्लूले नेपालमा एक वर्ष पुरा गरेको छ । कोभिड १९ को संक्रमण द्रुत गतिमा फैलिरहेको समयमा नेपाल प्रबेश गरेको बीएमडब्लूले यस बीचमा थुप्रै चुनौती पन्छाउँदै एक वर्ष पुरा गरेको हो ।
कम्पनीले नेपाली बजारमा एक्स सिरिज, फाइभ सिरिज र साभेन सिरिज मोडल ल्याएर विक्री वितरण सुरु गरेको थियो । अब कम्पनीले चाँडै इलेक्ट्रीक मोडल ल्याउने तयारी गरिरहेको छ ।
‘हामीले एक वर्षको दौरान थुप्रै उतार चढाव देखेका छौं । कहिले ५० हजार डलरभन्दा महंगा गाडी आयातमा प्रतिवन्ध त कहिले कोभिडको कारण लकडाउन एक वर्षमा ८ महिना मात्रै शोरुम खोल्न सकेका थियौं । त्यसका बाबजुद पहिलो वर्ष ठिकै व्यापार गर्न सफल भएका छौं’, लक्ष्मी प्रिमियमका सेल्स इन्चार्ज प्रबोद श्रेष्ठले भने ।
बीएमडब्लू सन् २०२० को अक्टोबरमा नेपाल आएको भएपनि कम्पनीले आधिकारीक लञ्चिङ कार्यक्रम भने डिसेम्बर ७ तारिखमा गरेको थियो । अहिले २ करोडदेखि ४ करोड मूल्यका लग्जरी कार विक्री गर्दै आएको कम्पनीले निकट भविष्यमा नै दुई मोडलका इलेक्ट्री कार ल्याउने तयारी गरेको छ ।
कोभिड १९ को कारण भुक्तानी संतुलन विग्रन थालेको भन्दै सरकारले ५० हजार डलर माथिका सवारी साधन आयातमा ५ महिनाभन्दा धेरै समय प्रतिवन्ध लगाएको कारण पनि कम्पनीले धेरै समय गाडी मगाउन सकेको थिएन । सरकारले खुल्ला गरेसँगै केही यूनिट गाडी नेपाल आउने क्रममा रहेका छन् ।

अहिले लक्ष्मी प्रिमियमले नेपालमा उपलब्ध गराएको अधिकांश मोडल प्लग इन हाइव्रिड टेक्नोलोजीमा आधारित रहेका छन् । जसका कारण सवारी साधन किन्ने मानिसले इन्धन निकै कम खपत गरिरहेको कम्पनीले जनाएको छ । एक पटकको फुलचार्जमा ५० देखि ७५ किलोमिटर रेञ्ज दिने बीएमडब्लूका प्लग इन हाइब्रिड कारहरु अहिले बजारमा उपलब्ध रहेका छन् ।
१०५ वर्ष अगाडि जर्मनीमा खुलेको बायरिचे मोटोरेन वर्क (बीएमडब्लू) सुरुवाति दिनमा हवाईजहाजको इन्जिन बनाउन खुलेको हो । यस कम्पनीले अहिलेपनि हवाई जहाजको इन्जिन उत्पादन गर्दै आएको छ भने, कार उत्पादनमा पनि आफ्नो विशिष्ठ स्थान कायम राख्दै सबैभन्दा धेरै नाफा कमाउने अटो उत्पादकको रुपमा आफुलाई स्थापित गरेको छ ।

बीएमडब्लू ग्रुपले विश्वमा सर्वाधिक महंगा भनेर चिनिने रोल्स रोयस र मिनी जस्ता ब्राण्डको समेत उत्पादन गर्दै आएको छ । म्युनिखमा हेडक्वाटर रहेको कम्पनीले जर्मनी, ब्राजिल, चीन, भारत, साउथ अफ्रिका, बेलायत, अमेरिका र मेक्सीकोमा प्लान्ट स्थापना गरेर गाडी उत्पादन गर्दै आएको छ ।
बीएमडब्लू मोटर स्पोर्टसको लागि नाम चलेको कम्पनी हो । जसले टुरिङ कार, फर्मुला १ र स्पोर्टस कारमा विशेष चासो राखेर उत्पादन गर्ने गर्थ्यो । कम्पनीले सन् १९३० देखिनै लग्जरी कारको उत्पादन सुरु गरेको हो ।

