काठमाडौं । भारतमा आक्रमक बजार विस्तारको योजना बनाएर गाडी उत्पादन सुरु गरेको स्कोडाले सब फोर मिटर एसयूभी उत्पादन गर्ने तयारी गरेको छ । कम्पनीले इन्डिया प्रोजेक्ट २.० अनतर्गत ‘एमक्यूबी ए जिरो इन’ प्लेटफर्ममा नयाँ गाडी ल्याउने योजना बनाएको हो ।
निकै प्रतिस्पर्धी रहेको यो सेग्मेन्टमा मारुती सुजुकी, हुन्डाई, टाटा, महिन्द्रा, निसान र रेनो जस्ता ब्राण्डले आ-आफ्नो मोडल बजारमा विक्री गरिरहेका छन् । यस्तोमा सर्वाधिक वृद्धिदर रहेको यो सेग्मेन्टमा स्कोडा पनि आउन लागेको हो ।
स्कोडाले भारतमा उत्पादन गर्ने यो मोडल अन्य अन्तर्राष्ट्रिय बजारलाई पनि ध्यानमा राखेर ल्याउन लागेको हो । कम्पनीले सब फोर मिटर एसयूभीको अलावा अन्य मोडलको पनि तयारी गरिरहेको जनाएको छ ।
कम्पनीले नयाँ एसयूभीमा पनि कुशकको जस्तै १.० लिटर टिएसआई इन्जिनमा नयाँ गाडी ल्याउने अनुमान गरिएको छ । उक्त इन्जिनले ११५ पीएस पावर र १७५ एनएम टर्क प्रदान गर्छ ।

