काठमाडौं । अहिले नेपालमा सबैभन्दा कम रकम खर्च गरेर कार किन्ने मानिसले २१ लाख रुपैयाँसम्म खर्च गर्नु पर्छ । बजारमा उपलब्ध कम मूल्यका तीन कारमा एउटा पेट्रोलबाट चल्ने मोडल हो भने दुई मोडल इलेक्ट्रीकबाट चल्ने कार हुन् ।
नेपालमा विक्री हुने सबैभन्दा कम मूल्यको कार डेरी ब्रान्डले विक्री गर्दै आएको इभी ७ र इएम ७ हो भने दिगोको इलेक्ट्रीक कार इ८ पनि कम मूल्यको कार हो । डेरीका दुबै कार २० लाखभन्दा कम मूल्यमा उपलब्ध रहेका छन् भने दिगो इ८ लाई कम्पनीले २१ लाख ४९ हजार मूल्य कायम गरेर विक्री गर्दै आएको छ ।
दिगो इ८ मा १५.२ किलोवाट आवरको लिथियम आयोन फस्फोरस व्याट्री दिइएको छ । उक्त व्याट्रीलाई ३ किलोवाटको घरायसी विजुलीबाट ५ घन्टामा फुल चार्ज गर्न सकिन्छ । यसलाई एक पटकको फुलचार्जमा १५० किलोमिटर सम्म गुडाउन सकिन्छ ।

डेरी ब्राण्डको इभी ७ मोडलमा कम्पनीले १८ किलोवाट आवरको लिथियम आयोन व्याट्री प्रयोग गरिएको छ । यी कारले एक पटकको फुल चार्जमा २२५ किलोमिटरसम्म रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
सोलार प्यानल जडान भएको इएम ७ को रेञ्ज भने केहि बढी रहेको छ । यसले फुल चार्जमा १७४ किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ । दुबै कारको उच्चगति क्षमता ६० किमि प्रतिघण्टा रहेको छ ।

दिगो इ८ मा १६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ भने डेरीका दुबै गाडीमा १७० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । दुबै गाडीमा पावर स्टेरिङ, डिस्क र ड्रम ब्रेक जस्ता फिचर समाबेस गरिएको छ । साथै दुबै ब्राण्डका कारमा हिल असिस्ट, पावर विन्डो, एसी, हिटर, टचस्कृन, रियर भ्यू क्यामेरा, सेन्ट्रल लक, रिमोट कि, अलोय ह्वील जस्ता फिचर दिइएको छ ।

पेट्रोलबाट चल्ने सबैभन्दा कम मूल्यको कार मारुती सुजुकी अल्टो ८०० हो । नेपालमा ट्याक्सीको रुपमा प्रयोग भएको अल्टो प्यासेन्जर कारमा कमै मात्र प्रयोग हुने गरेको छ । कारको रुपमा विक्री गर्ने अल्टो ट्याक्सीको भन्दा फरक कलरमा उपलब्ध गराएर सिजी मोटोकर्पले विक्री गर्दै आएको छ ।
७९७ सीसी क्षमताको इन्जिनमा उपलब्ध अल्टोको स्टाडर्ड भेरियन्टको मूल्य २० लाख ९ हजार रुपैयाँ रहेको थियो ।


