२५० सीसीका उत्कृष्ट ७ मोटरसाइकल, यस्तो छ इन्जिन, पावर र मूल्य

काठमाडौं । नेपालमा २५० सीसी क्षमताका मोटरसाइकल विशेषगरी युवापुस्ताको रोजाईमा पर्ने गरेको छ । नेपालको कच्ची बाटो होस् वा हाइवे सबैखाले बाटोमा २५० सीसी क्षमताका मोटरसाइकलको प्रदर्शन पनि राम्रो हुने भएकाले यूवाहरुले यसलाई धेरै मन पराएका हुन् ।

अहिले बजारमा मोटरसाइकल विक्री गर्ने अधिकांश ब्राण्डले २५० सीसी सेग्मेन्टमा मोटरसाइकल बिक्री गर्दै आएका छन् । पावर, पर्फमेन्सको आधारमा राम्रो भएरपनि सरकारले लगाएको उच्च करको कारण यो सेगमेन्टमा धेरै मोटरसाइकल विक्री हुन सकिरहेको छैन ।

यस्तोमा मुख्य कम्पनीहरुले नेपाली बजारमा विक्री गर्दै आएका ७ मोटरसाइकलको इन्जिन क्षमता, पावर र मूल्यको विषयमा यहाँ जानकारी दिएका छौं ।

यामाहा एफजेड-२५
यामाहाले विक्री गर्ने २४९ सीसी क्षमताको इन्जिन उपलब्ध एफजेड-२५ को मूल्य ४ लाख लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ । यसमा रहेको इन्जिनले अधिकतम ८००० आरपीएममा २०.८ पीएस पावर तथा ६००० आरपीएममा २०.१ एनएम टर्क जेनेरेट गर्छ ।

पाँच स्पीडको गियरबक्स दिइएको यो बाइकको टप स्पीड १४१ किलोमिटर प्रतिघन्टा रहेको छ । प्रतिलिटर ३५ किलोमिटर माइलेज दिने यो बाइकमा फ्यूल ट्याङ्क क्षमता १४ लिटरको छ ।

सीएफ मोटो-२५० एनके

चिनीयाँ ब्राण्ड सिएफ मोटोले विक्री गर्दै आएको २५० सीसी क्षमताको यो मोटरसाइकलको मूल्य ५ लाख ६५ हजार ५०० रुपैयाँ रहेको छ । यसमा रहेको २५० सीसीको इन्जिनले अधिकतम ९००० आरपीएममा २७ बीएच पावर र ७५०० आरपीएममा २२ न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।

६ स्पीडको गियरबक्स दिइएको यो मोटरसाइकलले प्रतिलिटर २५ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । साथै, यो बाइकमा १३.५ लिटर क्षमताको फ्यूल ट्याङ्क रहेको छ ।

केटीएम ड्यूक-२५०

चर्चित अष्ट्रीयन ब्राण्ड केटीएमले २४८.८ सीसी क्षमताको ड्यूक २५० नेपालमा विक्री गर्दै आएको छ । ड्यूक २५० को मूल्य ७ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । यसमा रहेको इन्जिनले अधिकतम ९००० आरपीएममा २९.५८ बीएच पावर र ७५०० आरपीएममा २४ एनएम टर्क जेनेरेट गर्छ ।

६ स्पीड गियरबक्स दिइएको केटीएम ड्यूक-२५० को टप स्पीड क्षमता भने १४५ किलोमिटर प्रतिघन्टा रहेको छ । प्रतिलिटर २५ किलोमिटर माइलेज दिने यो बाइकमा पनि १३.५ लिटर क्षमताको फ्यूल ट्याङ्क रहेको छ ।

होन्डा सीबीआर-२५० आर (एसटीडी)

होन्डाको चर्चित मोटरसाइकल सीबीआर २५० आर नेपालमा धेरै पहिलादेखि विक्री हुँदै आएको मोडल हो । यसमा २४९.६ सीसी क्षमता इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा २६.१५ बीएच पावर र ७००० आरपीएममा २२.९ न्यूटर्न मिटर टर्क जेनेरेट गर्छ । यसको मूल्य ६ लाख ७९ हजार ९०० सय रुपैयाँ रहेको छ ।

होन्डा सीबीआर-२५० आरमा ६ स्पीड गियर गियरबक्स पाउन सकिन्छ । यो मोटरसाइकलको टप स्पीडमा १३६ किलोमिटर प्रतिघन्टा रहेको छ । १३ लिटर क्षमताको फ्यूल ट्याङ्क रहेको यो मोटरसाइकलले प्रतिलिटर २९ किलोमिटर माइलेज दिने होन्डाको दावी छ ।

बजाज डोमिनार-२५०

बजाज डोमिनार-२५० एक वर्षअघि नेपाल आएको मोटरसाइकल हो । यसमा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा २७ पीएस पावर र ६५०० आरपीएममा २३.५ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड गियरबक्स रहेको छ ।

बजाज डोमिनार-२५० मा १३ लिटर क्षमताको फ्युल ट्याङ्क रहेको छ भने, यसले ३५ किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीको दावी रहेको छ । यसको मूल्य ५ लाख १८ हजार ९०० रुपैयाँ रहेको छ ।

जिक्सर-२५०

सुजुकीको जिक्सर-२५० पावरफुल मोटरसाइकल हो । कम्पनीले यसमा २४९ सीसी ४ स्ट्रोक सिगंल सिलिन्डर एसओएचसी एफआई इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ९००० आरपीएममा २६ बीएच पावर तथा ७००० आरपीएममा २२.६ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्जिनमा ६ स्पीडको गियरबक्स रहेको छ ।

यो मोटरसाइकलमा १२ लिटर क्षमताको इन्धन ट्याङ्की दिएको छ । यो मोटरसाइकलको प्रतिलिटर ३५ किलोमिटर माइलेज दिने कम्पनीले दावी गरेको छ । यो मोटरसाइकलको मूल्य ४ लाख ६५ हजार ९०० रुपैयाँ रहेको छ ।

हस्कभर्ना स्भर्टपिलेन-२५०

हस्कभर्ना एक वर्षअघि नेपाल आएको ब्राण्ड हो । भारतमा उत्पादन भएको हस्कभर्ना  स्भर्टपिलेन-२५०मा २५० सीसीको फ्यूल इन्जेक्टेड, लिक्विड कूल्ड, सिंगल सिलिन्डर, ४ स्ट्रोक डीओएचसी इन्जिन रहेको छ । यसको इन्जिनले अधिकतम ९००० आरपीएममा २९.५ हर्सपावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको गियर बक्स जडान गरिएको छ ।

हस्कभर्ना स्भर्टपिलेन २५० को मूल्य ६ लाख ५४ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top