काठमाडौं । साना इन्ट्री लेभल ह्याचव्याक कारको बजार सोचे अनुसार विस्तार हुन सकिरहेको छैन । कुनै समय इन्ट्री ह्याचव्याक कारको बजार हिस्सा करिब ४० प्रतिशत रहेकोमा अहिले घटेर २० प्रतिशतभन्दा पनि तल झरेको छ ।
बजारमा सब फोर मिटर र कम्प्याक्ट एसयूभी सेग्मेन्टको बजार बढ्न थालेसँगै साना ह्याचव्याक कारको बजार नराम्रोसँग घटेको छ । यद्यपी रेनो क्वीड र हुन्डाई सेन्ट्रो यो सेग्मेन्टमा राम्रो संख्यामा विक्री हुँदै आएका छन् ।
यसअघि मारुती सुजुकीले यही सेग्मेन्टमा विक्री गर्दै आएको सेलेरियो निकै सफल मोडल हो । तर, करिब ९ महिनादेखि आयात बन्द रहेको सेलेरियोको नयाँ जेनेरेशन मोडल नेपाल आउने तयारी भएसँगै यसको सिधा प्रतिस्पर्धा सेन्ट्रो र क्वीडसँगै हुने देखिन्छ ।
यस्तोमा हामीले रेनो क्वीड र नयाँ जेनेरेशन सेलेरियोको बीच रहेका मुख्य भिन्नतालाई यहाँ प्रस्तुत गरेका छौं ।
इन्जिन
रेनो क्वीड र नयाँ सेलेरियोमा समान १.० लिटर क्षमताको इन्जिन पाउन सकिन्छ । नयाँ जेनेरेशन सेलेरियोमा ९९८ सीसी क्षमताको ड्यूलजेट इन्जिन प्रयोग भएको छ भने, रेनो क्वीडमा ९९९ सीसी क्षमताको इन्जिन प्रयोग भएको छ । यी दुबै इन्जिन थ्रि सिलिण्डर हुन् ।

सेलेरियोमा प्रयोग भएको इन्जिनले अधिकतम ५५०० आरपीएममा ६६.५ पीएस पावर र ३५०० आरपीएममा ८९ एनएम टर्क प्रदान गर्छ । सेलेरियोको तुलनामा थोरै बढी पार भएको क्वीडले ५५०० आरपीएममा अधिकतम ६८ पीएस पावर र ९१ एनएम टर्क प्रदान गर्छ । दुबैमा ५ स्पीड गियरबक्स रहने छ ।
मूल्य
सुजुकीले नेपालमा सार्वजनिक गरेको मूल्य २७ लाख ९९ हजारमा सेलेरियो एलएक्सआई आउने अनुमान गर्न सकिन्छ । त्योभन्दा माथिका भिएक्सआई र जेडएक्सआईको मूल्य त्योभन्दा माथि जानेछ ।

रेनो क्वीडको तीन भेरियन्ट नेपालमा विक्री हुँदै आएको छ । यसको आरएक्सटी (अप्सनल) भेरियन्टको मूल्य २६ लाख ७९ हजार रुपैयाँ रहेको छ । जुन सेलेरियो एलएक्सआई भन्दा १ लाख २० हजार रुपैयाँ सस्तो पर्छ । साथै, रेनोले क्वीडको क्लाइम्बर भेरियन्टको २७ लाख ८९ हजार र आरएक्सटी (अप्सनल) एएमटीको मूल्य २८ लाख ४८ हजार तोकेर विक्री गर्दै आएको छ । मूल्यलाई हेर्दा क्वीड र सेलेरियोको बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
माइलेज
सानो एक हजार सीसी क्षमताको इन्जिन भएको कारण यी दुबै कारको माइलेज उत्कृष्ट रहेको छ । रेनोले विक्री गर्दै आएको क्वीडले नेपालको हाइवेमा २० किलोमिटर प्रतिलिटरसम्मको माइलेज दिइरहेको छ ।
सुजुकीले नयाँ सेलेरियोले २६ किलोमिटरसम्म माइलेज दिने दावी गरिरहेको छ । कम्पनीले दावी गरे अनुसारको माइलेज पाइन्छ वा पाइदैन भन्ने एकिन गर्न अझै केही समय कुर्नु पर्ने हुन्छ ।
सेलेरियोमा इन्धन ट्याङ्की क्वीडको तुलनामा ठूलो रहेको छ । यसमा ३२ लिटरको ट्याङ्की छ भने क्वीडमा २८ लिटरको ट्याङ्की पाउन सकिन्छ ।
साइज
लम्बाईमा रेनो क्वीड लामो छ । यसको लम्बाई ३७३१ एमएम छ भने सेलेरियोको लम्बाई ३६९५ एमएम छ । तर, चौडाई र उचाईमा सेलेरियो अगाडि छ । सेलेरियोको चौडाई १६५५ एमएम र उचाई १५५५ एमएम छ । क्वीडको चौडाई १५७९ एमएम र उचाई १४७४ एमएम रहेको छ ।
ह्वीलवेसमा पनि सेलेरियो केही अगाडि छ । सेलेरियोमा २४३५ एमएम र क्वीडमा २४२२ एमएमको ह्वीलवेस पाउन सकिन्छ । ५ जनाले यात्रा गर्न मिल्ने यी दुबै कारमा ठिकठाकको बुट स्पेश पाउन सकिन्छ । सेलेरियोमा ३१३ र क्वीडमा २७९ लिटरको बुट स्पेस रहेको छ ।
ग्राउन्ड क्लियरेन्समा रेनो क्वीड अगाडि रहेको छ । क्वीडमा १८२ एमएम र सेलेरियोमा १७० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।


