काठमाडौं । बेनेलीको कम सीसी तथा सस्तो मूल्यका कारण दुई मोटरसाइकल निकै चर्चित भएका थिए । कम्पनीले दुई वर्षअघि नेपाली बजारमा विक्री सुरु गरेको १५० सीसीको टीएनटी १५ र टीएनटी १५ आई निकै चर्चामा रहेको मोटरसाइकल हुन् ।
पछिल्लो समय लगातार मोटरसाइकलको मूल्य बढ्ने क्रम जारी नै रहेको छ । केही वर्षअगाडि नेपालमा सार्वजनिक हुँदा बेनेली टीएनटी १५ को मूल्य २ लाख ३० हजार रुपैयाँ र टीएनटी १५ आईको मूल्य ३ लाख २० हजार रुपैयाँ रहेको थियो । उक्त समयमा कम मूल्यका कारण यी दुई मोटरसाइकल पाउनै मुस्किल हुने अवस्था सृजना भएको थियो ।
हाल यी दुई मोटरसाइकलको मूल्य निकै वृद्धि भएको छ । कम्पनीले जारी गरेको पछिल्लो मूल्यसूचीका अनुसार बेनेली टीएनटीको मूल्य २ लाख ५४ हजार ९०० रपैयाँ पुगेको छ भने टीएनटी १५ आईको मूल्य ३ लाख ७७ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।
बेनेलीका मोटरसाइकलहरु नेपाली बजारमा केटीएम इन्टरनेशनलले विक्री वितरण गर्दै आएको छ ।
बेनेली टीएनटी–१५ मा १४८ सीसी, एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा १२.०६ बीएचपी पावर उत्पादन गर्छ । यस बाइकको इन्जिनमा ५ स्पीड म्यानुयल गियरबक्स जडान गरिएको छ । बाइकमा १६ लिटर क्षमताको फ्यूल ट्यांक दिइएको छ ।
यस बाइकको टप स्पीड क्षमता १३० किलोमिटर प्रतिघन्टा रहेको छ भने यसले ४५ देखि ५० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।
साथै, टीएनटी–१५० आइमा १४९.५ सीसी क्षमताको यो बाइकले १४ बीएचपी पावर उत्पादन गर्छ । अन्य फिचर समान रहेका छन् ।

