सरकारी नीतिले एक दर्जन मोटरसाइकल ब्राण्ड संकटमा !

काठमाडौं । नेपाल सरकारले बैसाखदेखि नयाँ प्रदुषण मापदण्ड लागु गर्ने तयारी गरिरहेको छ । अहिले ‘नेपाल प्रदुषण मापदण्ड-३’मा रहेको नेपाल एकै पटक तीन स्थान अपग्रेड हुने विषय अहिले चर्चामा रहेको छ ।

नेपाल सरकारले विशेषत भारतीय प्रदुषण मापदण्डलाई हेरेर नेपालको मापदण्ड बनाउने गरेको छ । दुई वर्षअघि नै भारत बीएस ६ मा गएकोले नेपाल पनि ‘नेपाल प्रदुषण मापदण्ड-६’ जानु पर्ने वातावरण मन्त्रीले बताउँदै आएका छन् ।

व्यवसायीहरुको संस्था नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले एकै पटक तीन स्थान माथि उक्लन नसकिने बताउँदै आएको छ ।

नाडाले संसारका विकशित देश नै यूरो ४ मापदण्डमा चलिरहेको समयमा नेपालले पनि तत्काल यूरो ४ र अबको दुई वर्षपछि मात्रै यूरो ६ सो-सरहको मापदण्डमा जानु पर्ने धारणा राख्दै आएको छ ।

अहिले भारतबाट आउने सवारीसाधन बीएस ६ मापदण्ड र चिनबाट आउने कारहरु यूरो ५ मापदण्डका छन् । यस्तोमा सरकारले बनाउने प्रदुषण मापदण्डले यूरो ५ का गाडीलाई नेपाल आयातमा प्रतिबन्ध लाग्ने अवस्था आयो भने करिब एक दर्जन मोटरसाइकल ब्राण्ड समस्यामा पर्ने देखिएको छ ।

क्रसफायर

नेपाली युवावर्गमा निकै चर्चित मोटरसाइकल ब्राण्ड क्रसफायर लामो समयदेखि नेपालमा विक्री वितरण हुँदै आएको छ । अफरोड राइडरको पहिलो रोजाइमा पर्ने क्रसफायर चीनमा उत्पादन हुने मोटरसाइकल हो । हाल युरो ४ मापदण्डको इन्जिनमा उपलब्ध क्रसफायर युरो ५ उक्लने तयारी गरिरहेको छ । तर, नेपालमा तत्काल युरो ६ मापदण्ड वा सो–सरह जाने हो भने क्रसफायर ब्राण्ड नेपाल आउने बाटो बन्द हुन सक्छ ।

सिएफ मोटो

नेपालमा विक्री हुने अर्को चिनियाँ ब्राण्ड सिएफ मोटो हो । सिएफमोटोले पनि नेपाली बजारमा बजारमा युरो ३ र युरो ४ मापण्डका मोटरसाइकल विक्री गरिरहेको छ । सिएफ मोटोको केही मोडल भने युरो ६ मापदण्डका पनि छन् । युरो ६ मापदण्डका मोटरसाइकल भने नेपालमा उपलब्ध छैन । तत्काल युरो ६ मापदण्ड लागु हुने हो भने सिएफ मोटो ब्राण्डमा समेत समस्या आउन सक्छ । सिएफ मोटो भारतमा पनि उपलब्ध रहेकाले यो ब्राण्डलाई धेरै समस्या नपर्न सक्छ ।

मोटरहेड

पछिल्लो सयम आक्रामक बजार विस्तारमा लागेको मोटरहेड चिनियाँ ब्राण्ड हो । मोटरहेडले नेपाली बजारमा विक्री गर्दै आकएको अधिकांस मोटरसाइकल यूरो ३/४ मापदण्डका रहेका छन् । तत्काल नेपालमा युरो ६ मापदण्ड लागू हुने हो भने मोटरहेडलाई पनि ठूलो धक्का पर्नेछ ।

क्रस-एक्स

क्रस-एक्सको अफरोड मोटरसाइकल नेपाली सडकमा राम्रै देख्न पाइन्छ । हालसम्म क्रस एक्सले यूरो ४ मापदण्डका मोटरसाइकल विक्री गर्दै आएको थियो । अब नयाँ आउने मोटरसाइकल यूरो ५ मापदण्डका हुने कम्पनीले जनाएको छ । क्रस एक्ससँग यूरो ६ मापदण्डको मोटरसाइकल छैन ।

जोङसेन

हालै मात्र नेपाली बजारमा भित्रिएको जोङसेन ब्राण्ड पनि चीनको हो । तीन मोडलका मोटरसाइकल तथा स्कुटर नेपाल ल्याएको कम्पनीले यूरो ४ र यूरो ५ मापदण्डका इन्जिनमा ल्याएको छ । जोङसेनसँग यूरो ५ मापदण्डसम्मका मोटरसाइकल मात्र छन् । यस्तोमा नयाँ मापदण्ड जोङसेनलाई समेत भारी पर्न सक्छ ।

बेनेली

इटालीयन ब्राण्ड बेनेलीको चीनमा उत्पादन भएका मोटरसाइकल नेपाली बजारमा विक्री वितरण हुने गरेको छ । बेनेलीले हाल नेपाली बजारमा विक्री गर्ने मोटरसाइकलहरु यूरो ४ तथा यूरो ५ मापदण्डका रहेको छन् । तर, भारतमा बेनेलीले बीएस ६ मापदण्डका मोटरसाइकल उपलब्ध गराउँदै आएको छ । यस्तोमा नेपालमा पनि ति मोडल आउन सक्ने छन् ।

अन्य

यसका अलावा नेपाली बजारमा विभिन्न ब्राण्डका चिनियाँ मोटरसाइकल विक्री भइरहेको छन् । कायो, एशियनविस्ट, हाउजे, हान्वे, किवे, एसवाईएम जस्ता धेरै ब्राण्डसँग हालसम्म यूरो ६ मापदण्डका मोटरसाइकल उपलब्ध छैनन् । यस्तो अवस्थामा नेपालमा तत्काल यूरो ६ सो–सरहको मापदण्ड लागु हुने हो भने यी ब्राण्ड बन्द हुन सक्छन् ।


Back_to_top