नयाँ जहाज अन्नपूर्ण र मकालुको इन्साइड स्टोरी, फर्काउला एनएसीको साख

काठमाडौं । यहाँ हामीले चर्चा गर्न लागेको नेपालको हिमालको नभई नेपाल एयरलायन्सले हालै युरोपबाट खरिद गरेको दुईवटा लोमो दूरीका हवाईजहाज अन्नपूर्ण, मकालुको हो । 

गत असार ५ मा त्रिभुवन विमानस्थलमा ल्यान्ड भएको एयरबस कम्पनीले बनाएको ए–३३०–२०० को नाम अन्नपूर्ण राखिएको छ भने, यसलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले यसको कलसाईन नाईनएन एएलवाई दिएको छ । 

त्यस्तै, साउन १० मा नेपाल आइपुगेको अर्को नयाँ एयरबस नाम मकालु हो । यसको कलसाईन नाईनएन एएलजेड दिइएको छ । 

यी दुबै विमान फ्रान्सको टुलुस सहरबाट लगातार ९ घन्टा उडाएर काठमाडौंमा ल्यान्ड भएको हो । दुबै जहाज एकैपटकको उडानमा १५ घण्टासम्म लगातार उडिरहने क्षमताका छन् । 

यी दुबै जहाजका प्रत्येक सीटहरूमा आरएभीई सेन्ट्रीक आधुनिक इन्फ्लाइट इन्टरटेन्मेन्ट सिस्टम जडान गरिएको छ । 

फ्रान्सेली विमान निर्माता कम्पनी एयरबसले बनाएको ए–३३०–२०० जहाज अत्याधिक सफल मोडल मानिन्छ । यो मोडलको सुरुवात सन् १९९८ मा कोरियन एयरबाट गरिएको हो । 

यसको म्याक्सिमम् टेकअफ वेट २ लाख ३० हजार केजी हो । यसमा दुबैतर्फ रोल्स रोयसको टेन्ट् ७०० आधुनिक इञ्जिन जडान गरिएको छ । 

यस विमानको लम्बाई १९३ फिट चौडाई १९८ फिट तथा उचाई ५७ फिट रहेको छ । यो जहाज प्रतिघन्टा ९०३ किमिको गतिमा उड्न सक्छ । यसमा रहेको फ्यूल ट्याङ्कीहरूको क्यापासिटी १ लाख ३९ हजार ९० लिटर छ । 

नयाँ जहाज ल्याउँदा नेपाल एयरलायन्सले १२ वर्षसम्मका लागि एयरबससँग मर्मतसहितको सम्झौता गरेको जनाइएको छ । 

यसमा ४०६ जनाको म्याक्सिमम् सिटिङ्ग क्यापासीटी हुनसक्छ, तर नेपालमा हाल ल्याइएको दुईवटा जहाजमा २७४ सीटको व्यवस्था रहेको छ । जसमा २५६ इक्नोमिक क्लास र १८ वटा सुविधा सम्पन्न सांग्रिला बिजनेस क्लास रहेको छ । 

यसमा रहेको इक्नोमिक क्लासको सीटको चौडाई १८ इञ्च र सबै सीटमा व्यक्तिगत स्क्रीन पनि दिइएको छ । यी जहाजहरू खरिद गर्न नेपाल वायुसेवा निगमले नेपाल सरकारको जमानीमा सञ्चयकोष र नागरिक लगानी कोषसँग २५ अर्ब ऋण लिएको छ । 

यसको ककपिटमा अत्याधुनिक कम्प्यूटराईज सिस्टम जडित ६ वटा ठूला डिजिटल स्क्रीन जडिज छ । यी जहाजहरूलाई चलाउन १ जना क्याप्टेन १ जना फस्ट अफिसर तथा फ्लाइट इञ्जिनियरको जरुरत पर्छ । 

यी जहाजहरू फ्लाई बाई वायर कन्ट्रोल सिस्टमका हुन् र यसलाई चलाउन दुबैतर्फ साईडस्टिक राखिएको हुन्छ । धेरैले सोचेजस्तो स्टेरिङ ह्वील यसमा हँुदैन । यी जहाजहरू क्याप्टेन तथा फस्ट अफिसर दुबैजनाले कन्ट्रोल गर्न सक्छन् । 

पहिलो जहाज अन्नपूर्णको सम्पूर्ण फ्लाइट अघि गरिनुपर्ने लिगल तथा टेक्निकल परीक्षा पूरा भइसकेको छ । यो जहाजले कतारको दोहामा यही साउन १८ गते पहिलो व्यावसायिक उडान गर्दैछ भने दोस्रो मकालुको नियमित उडानको लागि भने केही समय लाग्ने जनाइएको छ । 

यी जहाजहरूबाट नेपाल एयरलायन्सले नेपालको राष्ट्रिय झन्डालाई चाँडै नै कोरिया, जापान तथा अस्ट्रेलिया तथा युरोेपका देशहरूसम्म पु¥याउने अपेक्षा गरिएको छ । 

नेपाल एयरलायन्ससँग २ वर्ष अगाडि खरिद गरेको एयरबसकै ए–३२० मोडलको दुईवटा जहाज र बोइङ कम्पनीको २५ वर्षअघि खरिद गरेको बी–७५७ मोडलको एकवटा जहाज अन्तर्राष्ट्रिय उडान सञ्चालनमा रहेका छन् । नयाँ दुईवटा जहाजसँगै अन्तर्राष्ट्रिय उडानमा ५ वटा जहाज पुगेको छ । 

हाल नेपाल एयरलायन्सले भारतको दिल्ली, बम्बई, बैङ्लोरलगायत थाइल्याण्ड, हङकङ, मलेसिया, कतार तथा संयुक्त अरब इमिरेट्सको दुबईसम्म नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । 

सबैले आशा गरेका छन् अब नेपाल एयरलाइन्सको गुमेको शाखलाई यी ५ अन्तर्राष्ट्रिय उडान भर्ने जहाजहरुले फर्काउने छन् । 


Back_to_top