काठमाडौं । विद्युतीय गाडीको सप्लाईमा ठूलो समस्या देखिएको छ । जनस्तरबाट विद्युतीय कारको माग उच्च रहेपनि सप्लाईमा समस्या हुँदा विद्युतीय गाडी किन्न चाहनेहरु निरास बनेका छन् ।
विश्वभर रहेको उच्च माग र ब्याट्री तथा सेमीकन्डक्टरको उत्पादनमा माग अनुसार नहुँदा गाडीको सप्लाईमा नै ठूलो समस्या देखिएको हो । अहिले नेपालमा हुन्डाई, एमजी, बीवाइडी, टाटा, किया, दिगो जस्ता ब्राण्डले इलेक्ट्रीक कार विक्री गर्दै आएको भएपनि कुनै पनि ब्राण्डका इभी तत्काल शोरुम गएर किन्न पाउने अवस्था छैन ।
सरकारले प्रतितपत्र (एलसी) खोल्न प्रतिवन्ध लगाएसँगै त्यसपछि आउने गाडी कहिले आउँछ वा कहिले एलसी खुल्छ भन्ने नै अनिश्चित रहेको छ । त्यसैले ब्यवसायी वा सरकारी संयन्त्रलाई सोध्दा पनि कहिलेबाट गाडी बजारमा रहज हुन्छ भन्ने उत्तर पाउन सकिदैन । त्यसमा पनि सरकारले कर बढाउने भन्ने त्रास उपभोक्तादेखि विक्रेतासम्म परेको देखिन्छ । यसले बुकिङ लिन पनि कम्पनीहरु हच्कीरहेका छन् ।
‘बजारमा इभीको माग छ । कम्पनीले सप्लाई पनि दिएको थियो । तर, अचानक एलसी बन्द हुँदा गाडी आयात कहिले सुरु हुन्छ भन्ने एकिन गर्न सकिदैन । त्यसैले बैसाख १५ गतेपछि शोरुम बन्द गरेर बस्नस पर्ने अवस्था छ’, बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन् ।
कहिलेबाट सवारीसाधनको एलसी खुल्ला हुन्छ भन्ने विषयमा अर्थमन्त्रलय पनि अनभिज्ञता प्रकट गर्छ । मन्त्रालयले गाडी आयात गर्ने ब्यवसायीसँग सरकारको बाध्यता बुझिदिन आग्रह गरिरहेको छ ।
नेपालमा सर्वाधिक खोजी हुने एमजीको जेडएस इभी ३ महिनादेखि आयात ठप्प छ । पाँच सय ग्राहकले बुकिङ गरेर बसेको जेडएस इभी पनि कहिले आउँछ अझै टुङ्गो छैन ।
‘हामीले गाडी मगाएको ३ महिना भयो अहिलेसम्म हिड्न सकेको छैन । चीनमा चलिरहेको लकडाउनले अझै कति समय गाडी आउँदैन भन्ने एकिन छैन । पहिला बुकिङ गरेर बसेका ग्राहकलाई दिनु पर्छ । त्यसपछि एलसी खुल्यो भने इभी मगाउन सकिन्छ । अहिले त अन्योलको अवस्था छ’, एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सको जनरल मेनेजर सचिन अर्यालले भने ।
टाटाले अहिले पहिला बुकिङ गरेर बसेका ग्राहकलाई गाडी उपलब्ध गराउँदै आएको छ । तर, नयाँ एलसी खोल्न बन्द भएको कारण जेठसम्म केही यूनिट गाडी आयात भएपनि त्यसपछि टाटाको नेक्सन र टिगोर इभीको पनि आयात हुने अवस्था नभएको सिप्रदी स्रोतले जनाएको छ ।
केही चिनियाँ ब्राण्ड र कोरियन ब्राण्ड कियाले पनि निकै लामो समयदेखि इभी उपलब्ध गराउन सकेका छैनन् । यी कम्पनीहरुको पनि नयाँ इभी कहिले आउँछ भन्ने एकिन छैन ।
अहिले शोरुममा हुन्डाईको कोना र आयोनीक ५ देखिन्छ । तर, यी गाडी पनि पहिल्यै बुकिङ गरेर बसेका ग्राहकले मात्रै पाउन सक्ने अवस्था रहेको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको भनाई छ ।
‘अहिले कोना कोही संख्यामा आइरहेको छ । जति गाडी आईरहेको छ, त्योभन्दा धेरै बुकिङ नै छ । त्यसैले अहिले एलसी पनि रोकिएको अवस्थामा नयाँ गाडी किन्न खोज्ने वा बुकिङ गर्नेले कहिले गाडी पाउँछन् एकिन छैन’, लक्ष्मी इन्टरकन्टिनेनटल प्रालिका जनरल मेनेजर दिपक थपलियाले भने ।


