काठमाडौं । विद्युतीय गाडीको आयात र विक्री चर्चामा रहेपनि मोटरसाइकल, स्कुटर र इलेक्ट्रीक साइकलको चर्चा कम हुने गरेको छ । मूल्यको हिसावले किफायती, स्वास्थको हिसावले उत्कृष्ट यस्ता साधनमा ठूला औद्योगीक घरानाको प्रबेशसँगै यसको प्रयोग बढ्ने अपेक्षा गरिएको छ ।
नेपालको कृषि जन्य बस्तुको व्यवसायमा परिचित नाम निम्बस समूह अन्तर्गतको निम्बस इन्टरनेशनल को. प्रालिले इलेक्ट्रीक साइकल ब्राण्ड लेक्ट्रो नेपाल ल्याएको हो । कम्पनीले लेक्ट्रो ब्राण्डले उत्पादन गरेका विभिन्न ९ मोडल नेपाल ल्याएको हो ।
भारतीय ब्राण्ड लेक्ट्रो नामबाट आउने इलेक्ट्रीक साइकललाई कम्पनीले ललितपुरको पुल्चोकमा शोरुम स्थापना गरेर विक्री सुरु गर्ने तयारी गरेको जनाएको छ ।
नेपालमा कृषिजन्य उद्योग संचालन गर्दै आएको निम्बस समूहको इलेक्ट्रीक मोविलिटीमा प्रबेशको विषयमा कम्पनीका प्रबन्ध निर्देशक आनन्द बगरिया भन्छन्, ‘नयाँ टेक्नोलोजी आत्मसात गर्नकै लागि हामीले इलेक्ट्रीक साइकल नेपाल ल्याएका हौं । यसलाई सहरी क्षेत्रको यातायातको रुपमा विकास गर्ने हाम्रो लक्ष्य हो ।’
ललितपुरमा साइलक लेनहरु पनि कोरियको कारण निम्बस इन्टरनेशनलले ललितपुरको पुल्चोकमा शोरुम राख्न लागेको अनुमान गर्न सकिन्छ ।

लेक्ट्रो भारतमा लोकप्रीय इलेक्ट्रीक साइकल ब्राण्ड हो । यसमा हिरो ग्रुपको समेत लगानी रहेको छ भने, हिरो लेक्ट्रो ब्राण्डको सीइओमा आदित्य मुन्जाल रहेका छन् ।
निम्वस इन्टरनेशनले नेपाल ल्याएको सी-३ मोडलको मूल्य ७५ हजार ९०० रुपैयाँ तोकेर विक्री सुरु गर्न लागेको छ । त्यसैगरी सी-५ मोडलको ८० हजार ९००, सी-६ मोडलको ९० हजार ९००, सी-७ मोडलको ९० हजार ९०० र सी-७ प्लसको ९५ हजार ९०० रुपैयाँ तोकिएको छ ।
साथै, कम्पनीले सी-८ मोडलको ९५ हजार ९००, सी-८ आई मोडलको १ लाख ४ हजार ९०० र सि-९ मोडलको १ लाख २२ हजार ९०० रुपैयाँ र एफ-६ आई मोडलको १ लाख ३९ हजार ९०० रुपैयाँ रहेको छ ।
कम्पनीले नेपाल भित्र्याएका यी साइकलहरुमा २५० वाटको लिथियम आयन ब्याट्री रहेको छ । यी साइकलहरु एक पटकको फुलचार्जमा ३० देखि ६० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । साथै, प्याडल गरेर पनि यी साइकल चलाउन सकिन्छ ।

