काठमाडौं । सिप्रदी ट्रेडिङले नेपालमा विक्री गर्ने नेक्सन ईभीको डर्क एडिसन सबैभन्दा महंगो मोडल हो । कम्पनीले नेक्सन ईभीको डार्क एडिसन नेपालमा लन्च गरेको धेरै समय भएको छैन ।
रेगुलर भेरियन्टमा ग्राहकको लामो वेटिङ पिरियड भएपनि डार्क एडिसनमा त्यति लामो लाइन छैन । अहिले बुकिङ गर्ने ग्राहकले २ वा ३ महिना भित्रै डार्क एडिसन पाउन सक्नेछन् । रेगुलर मोडलको तुलनामा यसको मूल्य २ लाख रुपैयाँले बढी रहेको छ ।
डार्क एडिसन एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसलाई फाइनान्स सुविधा लिएर खरिद गर्न चाहने मानिसले गाडीको मूल्यको २० प्रतिशत डाउन पेमेन्ट गरेरै बाँकी रकम कर्जामा लिन पाउने छन् । तर, २० प्रतिशत मात्रै डाउन पेमेन्ट गर्दा व्याज भने बढी तिर्नु पर्ने हुन्छ ।
यदि टाटा नेक्सन ईभी डार्क एडिसनको लग्जरी भेरियन्ट २० प्रतिशत डाउन पेमेन्ट मात्रै गरेर खरिद गर्ने हो भने ८ लाख ७९ हजार ८ सय रुपैयाँ डाउन पेमेन्ट बापत बुझाउनु पर्छ । बाँकी रकम ८४ महिने किस्तामा तिर्नेगरी कर्जा लिन सकिन्छ ।
यसरी थोरै डाउन पेमेन्ट गर्दा ३५ लाख १९ हजार २०० रुपैयाँ कर्जा लिनु पर्ने हुन्छ । अहिले बजारमा औषत व्याजदर नै १३.५ प्रतिशत पुगेको कारण मासिक किस्ता ६४ हजार ९८२ रुपैयाँ पर्न आउँछ ।
यदि ५० प्रतिशत डाउन पेमेन्ट गर्ने हो भने २१ लाख ९९ हजार ५०० रुपैयाँ मात्रै कर्जा लिँदा पुग्छ । ७ वर्षको किस्ताबन्दीमा नेक्सन ईभीको डार्क एडिसन किन्ने हो भने मासिक ४० हजार ६१४ रुपैयाँ किस्ता तिर्दा पुग्छ ।
नेक्सन ईभी आकर्षक डिजाइन, उच्च ग्राउण्ड क्लियरेन्स, फाइभ स्टार सेफ्टी रेटिङ, आकर्षक मूल्य तथा देशैभरी फास्ट चार्जरको उपलब्धताका कारण चर्चामा रहेको मोडल हो । ९५ किलोवाट क्षमताको मोटर र ३०.२ किलोवाट आवरको ब्याट्री यसमा उपलब्ध रहेको छ ।

