हुन्डाईले आफ्नो बहुप्रतिक्षित मोडल सेन्ट्रोको नयाँ जेनेरेशन सार्वजनिक गरेको छ । आज भारतीय मिडियाकर्मीहरुको बीचमा देखाईएको नयाँ सेन्ट्रो भोलिबाट प्रिबुकिङ लिने कम्पनीले जनाएको छ ।
सेन्ट्रोले भारतमा २० वर्ष पुरा गरेको अवसरमा यो कार कम्पनीले बजारमा ल्याएको हो । यसअघि वार्षिक ३० हजार यूनिटभन्दा बढी बिक्री रहेकै बेला कम्पनीले २०१४ मा सेन्ट्रोको उत्पादन बन्द गरेको थियो । अब यो कार हुन्डाईको इन्ट्री लेवलको कारको रुपमा पुनः बजारमा आएको छ ।
हुन्डाईले नयाँ २०१८ सेन्ट्रो आधुनिक सुविधा र स्टाइलको साथ ल्याएको जनाएको छ । कास्केडिङ ग्रिलसहित आकर्षक लुक्स दिइएको यस कारमा आर्कषक नयाँ हेडल्याम्प दिइएको छ ।

कम्पनीले अक्टोबर १० अर्थात् भोलीबाट कारको बुकिङ्ग सुरु गर्ने जनाएको छ । त्यसकालागी भारतीय ग्राहकले अनलाईन बुकिङसमेत गर्न सक्ने छन् । सुरुवाति ५० हजार ग्राहकहरुले जम्मा ११ हजार भारतीय रुपैयाँमा कारको बुकिङ गर्न पाउने छन् ।

नयाँ सेन्ट्रोमा १.१ लिटर ४ सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । यसमा लगाइएको पेट्रोल इन्जिनले ६८ बीएचपी पावर र ९९ एनएम टर्क उत्पादन गर्छ । यस कारमा ५ स्पिड म्यानुअल र एएमटी गियरबक्स जडान गरिएको छ । कारको टप स्पीड १५६ किलोमिटर प्रतिघन्टा रहेको छ ।

यो कारको मुल्य कति पर्छ भन्ने जानकारी भने कम्पनीले आधिकारीक लञ्चकै दिन २३ अक्टोबरमा सार्वजनिक गर्ने जनाएको छ । १ लिटर पेट्रोलले २०.३ किलोमिटर दुरी पार गर्ने कम्पनीको दाबी छ ।



