श्री एयरलाइन्सको गम्भीर लापरवाही, उडानकाे क्रममा क्यावीनमा लगाईएको सिलीङ खस्याे

काठमाडाैं । निजी क्षेत्रको आन्तरिक हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सको नेपालगन्ज काठमाडौंको हिजोको नियमित उडाने सुखद रहेन । उडानमा रहेको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा ल्याण्डिङ गर्ने क्रममा विमानको क्यावीनकाे छतमा लगाईएको सिलीङ कभर खसेको थियाे । सो कभर खसेर कसैलाई पनि चोटपटक भने नलागेको बुझिएको छ । फोटोमा देखिए अनुसार सिलीङ खसेर दुई पट्टीको यात्रुहरुको बिचभागमा झुण्डिएको  र यात्रुहरूले समातीरहेका छन् । उक्त घटना सम्बन्धि जानकारीका लागि कम्पनीका सूचना अधिकारीलाई सम्पर्क गर्दा केहि थाहा नभएको तथा इंजीनियरिंग विभागमा बुझेर खबर गर्ने जवाफ दिएका थिए ।

 नेपाल नागरिक उड्यन प्राधिकरणले सो जहाजलाई हाल ग्राउण्डेड गरेको छ । उडानमा रहेको जहाजको पार्टस खस्नु भनेको यात्रुहरूको सुरक्षामा गम्भिर लापरवाही हो, यस जहाजको पूरा इन्पेक्सन रिपाेर्ट नअाएसम्म उडान अनुमती नदिने प्राधिकरणका अधिकारीले जनाएका छन् । एअरपाेर्टमा कम्पनीले टायर पंचर भएर विमान ग्राउण्डेड भएको भनेता पनि एक यात्रुले सोसल मिडीयामा उक्त घटनाको फोटो पोष्ट गरेपछि सो कुरा बाहिर आएको थियाे ।

श्री एयरलाइन्सले सँचालन गरिरहेको उक्त जहाज बम्बाडियर कम्पनीले निर्माण गरेको सिआजे २०० मोडलको हो । नाईनएन एएमसी (9N-AMC) कल साइन भएकाे उक्त जहाज ५० सिट यात्रु क्षमताकाे जहाज हो । सन् २००२ मा निर्माण भएको साे जहाज २०१७ अप्रील देखि श्री एयरलायन्सको उडानमा रहेको छ । 

लामो समयदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा हेलीकप्टरको सेवा दिइरहेको श्री एयरलायन्स नेपालको आन्तरिक हवाई उडानकाे फिक्स विङ्गमा भने कान्छो एयरलाइन्स हो । यस एयरलाइन्सले आन्तरिक उडानमा जेट इन्जिन भएका विमानहरु ट्रङ्क रुट (धेरै यात्रु उडान गर्ने गन्तव्य) मा उडान गरिरहेको छ । एयरलाइन्ससँग क्यानाडाको बम्बाडियर कम्पनीले निर्माण गरेकाे ५० सीट क्षमताका २ वटा र ७० सीट क्षमताको २ वटा विमानगरि चारवटा विमानहरु सँचालनमा रहेका छन् ।


Back_to_top