चाडपर्वका वेलामा हुने दुर्घटनाको मुख्य कारण

काठमाडौं । सवारी दुर्घटनाको कारण वर्षेनी हजारौँ मानिसको मृत्यु हुने गरेको छ । सडकको कमजोर अवस्था, चालकको लापरवाही, तीब्र गतिलगायतका कारण उपत्यकाभित्र तथा बाहिर दैनिकजसो सवारी दुर्घटना हुने गरेका छन् । 

ट्राफिक प्रहरी महाशाखाको अध्ययन अनुसार सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरबाही रहेको छ । करिब पाँच वर्षको आँकडा केलाउँदा सवारी चालकको बेपरवाहीको कारण हजारौँ मानिस सडक दुर्घटनामा निधन भएको स्पष्ट देखिन्छ । 

आर्थिक वर्ष २०७३/०७४ को नौ महिनामा चालककै कारण ५ हजार २ सय ५ जनाको निधन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७४/०७५ मा ५ हजार ९ सय ६१ तथा आर्थिक वर्ष २०७५/०७६ को हालसम्म १ हजार ५५ जना मानिसको निधन भैसकेको छ ।

त्यस्तै, तिव्र गतिका कारण पनि वर्षेनि सयौँ मानिसको निधन हुने गरेको महाशाखाले जनाएको छ । आर्थिक वर्ष २०७३/०७४ मा तिव्र गतिका कारण भएको दुर्घटनामा ४१ जनाको निधन भएको थियो भने २०७४/०७५ मा ४१ तथाङ्क २०७५/०७६ को हालसम्म १ सय ४२ जनाको निधन भैसकेको छ । 

मादकपदार्थ सेवन गरी सवारी चलाउँदा भएको दुर्घटनामा आर्थिक वर्ष २०७३/०७४ मा १ सय ६७, आव २०७४/०७५ मा २ सय २१ तथा आव २०७५/०७६ को असोज महिनासम्म ४४ जनाको मृत्यु भएको छ । यान्त्रिक गडबडीका कारण भएको दुर्घटनामा आर्थिक वर्ष २०७३/०७४ मा ५०, आर्थिक वर्ष २०७४/०७५ मा ४४ जना यात्रुको निधन भएको तथ्याङ्क रहेको छ । यो वर्षको असोज महिनासम्म यान्त्रिक गडबडीका कारण भएको दुर्घटनामा १४ जनाको निधन भएको पाइएको छ । 

महाशाखाका अनुसार एक सवारीसाधनले अर्काे सवारीसाधनलाई ओभरटेक गर्ने क्रममा हुने दुर्घटनामा परी वर्षेनी सयौँ मानिसको निधन हुने गरेको छ । यसका अलवा, पैदलयात्रुको लापरबाही, कमजोर सडकको अवस्था, तोडफोड, पशु चौपायलगायतका विविध कारण हुने भएको दुर्घटनामा वर्षेनि हजारौँ मानिसको निधन हुने गरेको छ ।

महाशाखाले नजिकिँदै गरेको महान् चाड विजयादशमी तथा दिपावलीलाई लक्षित गर्दै सार्वजनिक सवारी साधनको व्यवस्थापनमा विषेश ध्यान दिने जनाएको छ । चाडपर्वका समयमा अत्याधिक यात्रु सङ्ख्यासँगै तिव्र गति तथा मापसेका कारण दुर्घटना निम्तिने सम्भावनालाई न्यूनीकरण गर्ने तयारीसहित सुरक्षा व्यवस्था कडा पार्न लागिएको महाशाखाले जनायो । 


Back_to_top